images
images
  • नेपालमा फेरि ‘नाकाबन्दी’ लगाउने तयारीमा भारत

    काठमाडौं । नेपाल र भारतबिच कूटनीतिक सम्बन्धमात्र होइन पारिवारिक सम्बन्ध पनि उत्तिकै छ ।

    धार्मिक आस्थाका हिसाबले पनि नेपाल र भारतबिच महत्त्वपूण सम्बन्ध छ । राजनीतिमा नेपाल–भारतबिच ‘रोटी बेटीको सम्बन्ध’ छ भनिन्छ ।

    र पनि बेला–बेलामा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाउने गरेको छ ।

    जनस्तरमा सुमधुर सम्बन्ध रहँदा राजनीतिक तथा कूटनीतिक सम्बन्धमा भने तिक्तता आउने गरेको छ ।

    नेपालको सार्वभौम सम्पन्न संविधानसभाबाट अत्यधिक दुई तिहाइ मतले जारी गरेको संविधानको विषयलाई लिएर भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो ।

    २०७२ असोज ३ गते संविधान जारी भएपछि नेपालकै मधेशकेन्द्रित राजनीतिक दलको ‘इश्यू’ देखाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

    भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालकै आन्तरिक विषयलाई देखाउने वा नाकाबन्दी शब्द नै प्रयोग नगर्ने गरेको छ ।

    शक्तिशाली भूकम्पबाट आहात भएका बेला नेपालमाथि भारतले नाकाबन्दी लगाएको नेपालीले बिर्सिसकेका छैनन् ।

    अहिले नेपालको पश्चिमी भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयले नेपाल–भारतबिच कूटनीतिक सम्बन्धमा चिसोपन आएको छ ।

    व्यापारिक प्रयोजनका लागि नेपालको उक्त भूमि प्रयोग गर्ने भारत र चीनको सहमतिले नेपालको छिमेकी मुलुकसँगको सम्बन्धमा चिसोपन आएको हो ।

    यही भदौ ३ गते नयाँ दिल्लीमा २०७२ जेठ १ को सहमतिलाई पुनर्ताजगी गर्दै भारत र चीनबिच व्यापारिक प्रयोजनका लागि लिपुलेक प्रयोग गर्ने सहमति भएको छ ।

    यसप्रति नेपालले आपत्ति जनाइसकेको छ । तर, भारतीय विदेश मन्त्रालयले उक्त भूमिमाथि दाबी गर्दै नेपालको दाबीलाई ‘अप्रमाणिक’ भनेको छ ।

    ठिक यही सेरोफेरोमा नेपालबाट निर्यात हुने सामानलाई भारतले सीमामा रोकेको छ ।

    २०७२ सालमा नाकाबन्दी लगाउन भारतले इन्धन, खाद्यान्न मात्र होइन औषधिसमेत रोकेको थियो । नाकाबन्दीको झल्को दिनेगरी भारतले नेपालबाट निर्यात हुने प्लाइउडलाई सीमामा रोकेको छ ।

    नेपालमा उत्पादित प्लाइउडको मुख्य बजार भारत नै रहेका बेला निर्यात रोकेर नेपालको आर्थिक गतिविधिलाई प्रभावित बनाएको छ ।

    नेपालबाट प्लाइउड बोकेर भारत गएका ट्रकलाई विराटनगर पारिको जोगबनी भन्सार र काँकडभिट्टा पारिको पानीट्यांकीस्थित रानीगन्ज भन्सारमा दुई सातादेखि रोकिएको नेपाल प्लाइउड एसोसिएसनले जनाएको छ ।

    नेपालको प्लाइउड उद्योग ६७ प्रतिशत कोशी प्रदेशमा छन् ।

    नेपालभर करिब ९० प्लाइउड उद्योग रहेको र यसमध्ये ६६ भन्दा बढी उद्योगहरू कोशी प्रदेशमा छन् ।

    कोशी प्रदेशबाट निर्यातका लागि पठाइएको प्लाइउडलाई भारतीय पक्षले आइएसआई प्रमाणपत्रको अवधि सकिएको बाहना गरेर सीमामा रोकेको हो ।

    आईएसआई प्रमाणपत्र गुणस्तर मान्यता प्रमाणपत्र प्रदान गर्ने निकाय ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस)ले जारी गर्छ ।

    सो प्रमाणपत्रका लागि शुल्क बुझाइसकेको अवस्थामा पनि भारतले प्लाइउड रोकेको उद्योगीको गुनासो छ ।

    भारतीय भन्सार नाकामा नेपाली प्लाइउड बोकेका ट्रकलाई रोकेको विषयमा उद्योगीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण पनि गराएका थिए ।

    प्रधानमन्त्री ओलीले यही भदौ ३१ गतेबाट भारतको भ्रमण गर्ने तयारी छ ।

    तर, यसको पूर्वसन्ध्यामा नेपालको प्लाइउड रोकेर भारतले नेपाली उद्योगीलाई दुःख दिएको छ ।

    नेपालको मुख्य निर्यातजन्य औद्योगिक उत्पादनमा रोक लगाएर भारतले ‘नाकाबन्दी’ झल्को दिने व्यवहार देखाएको छ ।

    सन् २०२४ मार्च १५ भारतले आफ्नो राजपत्रमा सूचना जारी गरेर २८ फेब्रुअरी २०२५ देखि आइएसआई प्रमाणपत्र बिनाका उद्योगको प्लाइउड आयात नगर्ने जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images