काठमाडौं– नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार पार्टीभित्रै टिप्पणी गर्दै वडासमेत जिताउन नसक्ने पदाधिकारीले ठूलो कुरा गर्ने प्रवृत्तिमाथि कटाक्ष गरेका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनको परिणाम हेर्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट र पद्मा अर्यालले आफ्नै वडामा उम्मेदवार जिताउन सकेनन् ।
यद्यपि, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझी र छविलाल विश्वकर्माले भने आफ्नो वडामा पार्टी उम्मेदवारलाई जिताउन सफल भएका थिए ।
भर्खरै एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद र आसन्न विधान महाधिवेशनका कारण आन्तरिक राजनीति तातेको छ ।
यस्तो बेला ओलीका निकट मानिने ज्ञवालीको अभिव्यक्ति पार्टीभित्र पदाधिकारी लक्षित सन्देशका रूपमा व्याख्या गरिएको छ ।























