काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले बहुविवाह गरेको र त्यसपछि सम्बन्धविच्छेद भएको प्रमाण अदालतका कागजातबाट खुलेको छ ।
थापाले मंगलबार फेसबुकमार्फत सम्बन्धविच्छेदको आदेश आंशिक रूपमा सार्वजनिक गर्दै आफ्नो निजी जीवनलाई गैरकानुनी नभएको दाबी गरेका छन् ।
तर, उनले सार्वजनिक गरेको अंशमा कुन पत्नीसँग र किन सम्बन्धविच्छेद भएको भन्ने प्रस्ट खुलाएका छैनन् ।
थापाविरुद्ध उनकी कान्छी पत्नी नुमा शर्माले २०७९ पुस २० गते घरेलु हिंसा र घरनिकालाको उजुरी दर्ता गरेकी थिइन् ।
उनीहरूले २०७९ माघ १५ गते अदालतमै मिलापत्र गरेर सम्बन्धविच्छेद गरेका थिए ।
यसअघि पनि थापा पहिलो पत्नी सुलोचना घिमिरेसँग वैवाहिक सम्बन्ध कायम छँदै नुमासँग २०७० सालमा दोस्रो विवाह गरेको र उनीहरूबाट एक छोरा समेत भएको तथ्य खुलेको छ ।
थापाले पाँच वर्षअघि दुवै श्रीमती र छोरासहितको ‘सुपर थापा फ्यामिली’ नामक युट्युब भिडियो समेत सार्वजनिक गरेका थिए ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने थापाले पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेर मात्र दोस्रो विवाह गरेको दाबी गरेका छन् ।
तर, अदालतका कागजातले उनी लामो समयसम्म दुवै पत्नीसँग बसेको प्रमाण देखाउँछ ।
रूपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा थापा रास्वपाबाट उम्मेदवार बनेका छन् ।
निजी जीवनमाथि उठेका प्रश्नबीच उनले सामाजिक सञ्जालमार्फत आफ्नो पारिवारिक जीवन ‘न गैरकानुनी, न समस्यापूर्ण’ भएको दाबी गरेका छन् ।























