काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र माओवादीसँग सम्भावित एकीकरणबारे असन्तोष बढेको छ ।
आइतबार शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकट नेताहरूले छुट्टै छलफल गर्दै ‘माओवादीसँग एकता भए पनि हामी त्यसमा सहभागी हुँदैनौं’ भन्ने निष्कर्ष निकालेका छन् ।
कार्यक्रमका सूत्रधार जीवनराम श्रेष्ठले अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा र पार्टी गतिविधि ठप्प भएको अवस्था उठाउँदै प्रश्न गरेका थिए ।
स्थायी कमिटी सदस्य डा.विजय पौडेल, रामकुमारी झाँक्री, धर्मराज निरौलालगायत नेताहरूले विशेष महाधिवेशनको माग गर्दै भ्रष्टाचार मुद्दा लागेका अध्यक्ष रहुन्जेल जनतामाझ जान नसकिने तर्क प्रस्तुत गरेका थिए ।
उनीहरूले गत महाधिवेशनलाई ‘कर्मकाण्डी’ भन्दै अध्यक्षले पदाधिकारी छान्ने शैलीलाई अस्वीकार गरे ।
सहभागी नेताहरूले पार्टी एकता, आन्दोलन र निर्माणबारे संस्थागत छलफलै नभएको र नेपालले बैठकसमेत सारेर निरंकुशता देखाएको आरोप लगाएका थिए ।
उनीहरूले माओवादीसँग एकता भए पनि अस्वीकार गर्ने र समाजवादीलाई अलग्गै अगाडि बढाउने नभए एमालेमै फर्किने साझा निष्कर्ष निकालेका छन् ।























