काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया २०८३ साउनबाट मात्र सुरु गर्ने आन्तरिक तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा आफूलाई साथ दिएका नेताहरूसँग छलफल गर्दै एमालेसँगको ७ बुँदे सहमतिलाई कारण देखाएर यसअघि महाधिवेशन गर्न नसकिने बताएका छन् ।
कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिर २८ मा सकिँदैछ ।
विधानअनुसार असाधारण परिस्थितिमा कार्यसमितिको म्याद एक वर्ष थप्न सकिने भएकाले २०८३ मंसिरसम्म लम्ब्याउने तयारी भइरहेको छ ।
देउवाले एमालेसँगको सहमतिको चौथो बुँदामा उल्लेखित व्यवस्था देखाउँदै आफूलाई २०८३ असारपछि प्रधानमन्त्री बन्नुपर्ने भएकाले त्यसअघि महाधिवेशन भए सभापति पद गुम्ने र प्रधानमन्त्री बन्न कठिनाइ हुने तर्क प्रस्तुत गरेका छन् ।
यसै आधारमा अब बस्ने केन्द्रीय कार्यसमितिमा कार्यकाल थप्ने प्रस्ताव लैजाने र २०८३ साउनदेखि मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
कांग्रेसले अहिलेसम्मका १४ वटा महाधिवेशनमा कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने प्रथा कायम गर्दै आएको छ ।























