काठमाडौं– वर्तमान व्यवस्थाविरुद्ध गठन गरिएको ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी केही समयका लागि विदेश प्रस्थान गर्दैछन् ।
पारिवारिक भ्रमणका क्रममा उनी अस्ट्रेलिया जान लागेका हुन् ।
सुवेदीको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी राप्रपाका महामन्त्री धवल शमशेर राणालाई तोकिएको छ ।
‘म केही समयका लागि देश बाहिर रहने भएकाले मेरो अनुपस्थितिमा सम्पूर्ण जिम्मेवारी कार्यवाहक संयोजकको रूपमा डा.धवलशमशेर राणालाई दिएको छु,’ सुवेदीले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।
निकट स्रोतका अनुसार उनी आजै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ ।
उनका नातिसहितका आफन्त त्यहाँ बसोबास गर्दै आएका छन् ।
सुवेदी दशैँअघि नेपाल फर्किने तयारीमा रहेको जनाइएको छ ।
गत असारसम्म सुवेदी नेतृत्वको राजावादी समूह सक्रिय रूपमा आन्दोलनमा देखिए पनि त्यसयता समूहको गतिविधि झण्डै शून्य बनेको छ ।























