काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।
तर, सरकारभित्र उनको भूमिका सीमित देखिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकलाई आफ्ना निकटस्थ दूतका रूपमा अघि सारेकाले सरकार तथा पार्टीका महत्त्वपूर्ण छलफलहरूमा लेखक नै केन्द्रमा छन् ।
कांग्रेसका अन्य मन्त्रीहरू समेत सिंहभन्दा लेखकतर्फ बढी आस्था देखाउँछन् ।
सिंह उच्चस्तरीय राजनीतिक संयन्त्रमा समेत सहभागी गराइएनन् भने बालुवाटार–बूढानीलकण्ठमा हुने महत्वपूर्ण बैठकमा पनि बोलाइँदैन भन्ने उनको गुनासो छ ।
पार्टीभित्र समेत सिंहलाई पदीय भूमिका नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
उता, गृहमन्त्री लेखकले आन्तरिक सुरक्षा, अपराध नियन्त्रणदेखि आप्रवासन, विपद् व्यवस्थापन लगायतका ५१ जिम्मेवारी सम्हाल्नुका साथै देउवाका राजनीतिक निर्णयहरूमा पनि प्रमुख भूमिका खेलिरहेका छन् ।
यतिबेला व्यस्तताका कारण मन्त्रालयभित्र कर्मचारी सञ्जाल हावी भएको र कतिपय मुद्दा ओझेलमा परेको आरोप समेत छ ।
विश्लेषकहरूको भनाइमा देउवाले विश्वासपात्र लेखकमै सबै जिम्मेवारी थोपर्दा सिंहजस्ता नेता भूमिकाविहीन बनेका छन् ।
यसका साथै कांग्रेस स्रोतका अनुसार देउवाले लेखकलाई भावी सभापतिका लागि ग्रीनसिग्नल दिएका छन् ।
यो थाहा पाएका कांग्रेस इतरपक्षका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतका नेताहरूप्रति रुष्ट देखिन्छन् ।























