तियानजिन– सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग करिब ५० मिनेट लामो भेटवार्ता गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सीमाबाट सेना फिर्ता भएपछि शान्ति र स्थिरता कायम भएको, विशेष प्रतिनिधिहरूबीच सीमा विषयमा सहमति बनेको, कैलाश मानसरोवर यात्रा र भारत–चीनबीचको सिधा उडान पुनः सुरु भएको बताएका छन् ।
उनले दुवै देशबीचको सहकार्यले २.८ अर्ब जनतालाई फाइदा पुग्ने र मानवताको हितमा योगदान गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति सीले पनि भारत–चीन एकताबद्ध हुनु महत्त्वपूर्ण रहेको भन्दै सम्बन्धलाई पारस्परिक विश्वास र सम्मानका आधारमा अघि बढाउने प्रतिबद्धता जनाए ।
जापान भ्रमण सकेर शनिबार साँझ चीन पुगेका मोदी आज तियानजिनमा सुरु हुने इतिहासकै ठूलो सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
यसमा २० भन्दा बढी देशका शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।
मोदीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।


विश्व खबर 


















