काठमाडौं– रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरू आइतबार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
भैरहवाबाट केही समयअघि मात्र उनलाई नख्खु सारिएको हो ।
रास्वपाले आजै सचिवालय बैठक बसेर ९ आकांक्षीमध्ये एक जनालाई उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।
उम्मेदवारका लागि निवेदन दिएका मध्ये ९ जना छनोट भएका थिए ।
तीमध्ये केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, जीतबहादुर गुप्ता, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन् ।
रुपन्देही–३ का सांसद दीपक बोहराको निधनपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।























