काठमाडौं– सामाजिक सञ्जालमा पटक–पटक चरित्रहत्या गरेको आरोपमा पीडित महिलाले उजुरी दिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको एमाले केन्द्रीय सदस्य ऐन महर सत्ताको आशीर्वादमा हिरासतबाट बच्न सफल भएका छन् ।
बुधबार दिउँसो महर स्वयं साइबर ब्युरो भोटाहिटी कार्यालय पुगेका थिए ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थप आवश्यक नभएको ठानेर उनलाई हाजिरी जमानीमा मात्र छाडेको छ ।
पीडित महिलाले भने महर र उनकी श्रीमती सनुजा श्रेष्ठ तथा उनका आफन्तबाट पटक–पटक चरित्रहत्या, गालीगलौज र डिप फेक भिडियो निर्माण गरी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको बताए ।
बलात्कारसम्बन्धी उजुरी समेत उनले महरविरुद्ध दिएकी थिइन् ।
तर, अनुसन्धान रोकियो र उजुरी तामेलीमा राखियो ।
उक्त महिलालाई भने महरदम्पतीको उजुरीका आधारमा ५० दिन हिरासतमा राखिएको थियो ।
उनले सामाजिक सञ्जालमा जारी चरित्रहत्या र राज्यको अन्यायको विरोध गर्दै न्याय पाउन कठिन भएको गुनासो गरिन् ।
साइबर क्राइम मुद्दामा अन्य व्यक्तिहरू भने हिरासतमा राखेर अनुसन्धान गरिएका उदाहरण छन् ।
तर, बलात्कारको आरोप लागेका महरमाथि सरकारले सहज सुविधा प्रदान गरेको आलोचना गरिएको छ ।
महरले भने फेसबुक लाइभमा आफ्ना विषयमा मात्र उत्तर दिएको र कसैको चरित्रहत्या नगरेको दाबी गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।
बुधबार साँझ पक्राउ परेका पाँडेलाई पहिलो सरकारी वकिल कार्यालयमा पेश गरी त्यसपछि अदालत लगिने साइबर ब्यूरो भोटाहिटीका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
उनी एक महिलाको उजुरीपछि पक्राउ परेका हुन् ।
उनलाई प्रहरी हिरासतमा राखेर चार दिन अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
वातावरणविद् पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।























