काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका महाधिवेशन प्रतिनिधिसँगको अनौपचारिक भेटघाटमा व्यक्त भनाइलाई हवाला बनाएर प्रकाशित समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।
सचिवालयले जारी विज्ञप्तिमा कार्यक्रम अनौपचारिक भेटघाट मात्र भएको र प्रशिक्षणमूलक नभएको स्पष्ट पारेको छ ।
साथै, समाचारमा उद्धृत एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन जस्ता भनाइ भ्रामक र मनगढन्ते भएको उल्लेख गरिएको छ ।
भेटघाटमा ओलीले पार्टीको ऐतिहासिक वामपन्थी आन्दोलन, व्यक्तिगत स्वार्थले पार्टीलाई पर्ने असर, हालको नीति र सरकारको विकास प्रयासबारे आफ्नो दृष्टिकोण राखेको सचिवालयले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय राजनीतिमा आउनु, सदस्यता नलिई मिडिया र नेतासँग भेट गर्नुको विषयमा ओलीले असन्तुष्टि जनाएको र पार्टीको आन्तरिक एकता भड्किन नदिन अनुरोध गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ ।’























