काठमाडौं– नेकपा (माओवादी केन्द्र) भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीचको वाकयुद्ध थप चर्किएको छ ।
हालै प्रचण्डले आफूले छाडे पार्टी ढल्ने जस्तो टिप्पणी गरेका थिए भने जनार्दनले ‘शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो नहुने’ भन्दै प्रतिउत्तर दिएका थिए ।
बिहीबार विराटनगर पुगेका प्रचण्डले फेरि जनार्दनलाई लक्षित गर्दै भने, ‘एक जना प्रभाकरले नपत्याउँदा पार्टी र आन्दोलन रोकिँदैन । स्थायी समितिले नै यो कुरा स्पष्ट पारेको छ ।’
पत्रकारहरूले पार्टीभित्रका ‘स्वार्थ समूह’बारे सोध्दा प्रचण्डले पुनः जनार्दनमाथि इङ्गित गर्दै पार्टीको लाइन र विधिबाट बाहिर भई व्यक्तिगत स्वार्थमा आधारित गतिविधि गर्नेहरू नै स्वार्थ समूह हुन् भने ।
यसैबीच, लिपुलेक विवादबारे बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भावी कदम हेर्नुपर्ने बताए ।
भारत भ्रमणका क्रममा मोदीसँगै सीमा विषयमा छलफल भएको स्मरण गर्दै उनले भने, ‘मोदीले संवादद्वारा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । अब सरकारले प्रक्रिया अगाडि बढाउनुपर्छ ।’























