विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान उत्कृष्ट भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूको अरुचि मुख्य समस्या भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय निजामती, विद्यालय शिक्षा र प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण ऐन नबनिएकै कारण संविधान कमजोर देखिएको बताए ।
पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु असंवैधानिक नहुने प्रष्ट पार्दै उनले विद्यादेवी भण्डारीको पुनः सक्रियता ओलीकै सहमतिमा भएको बताए ।
चीन भ्रमणपछि भण्डारीलाई अध्यक्ष बनाउने कुरा चर्चामा आए पनि हाल आफू र भण्डारीबीच सम्पर्क नभएको उनले स्पष्ट पारे ।
भारतसँगको सीमा विवादबारे प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीले संवादमार्फत समाधान गर्ने प्रतिबद्धता पहिलोपटक जनाएको दाबी गरे ।
उनले पार्टीभित्रका स्वार्थ समूह विघटन गर्ने निर्णयबारे प्रष्ट पार्दै जनार्दन शर्मा ‘प्रभाकर’सम्बन्धी विवाद स्थायी समितिले नै समीक्षा गर्ने बताए ।
साथै, समाजवादी मोर्चा र अन्य दलसँग पार्टी एकीकरणको सम्भावना खुलेको जानकारी पनि दिए ।























