काठमाडौं– भारत र अमेरिकाबीच ट्यारिफ विवाद चुलिँदै गएको छ ।
रुसबाट तेल खरिद गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कुल ५० प्रतिशत ट्यारिफ लगाएका छन् ।
जुन अगस्ट २७ देखि लागू भएको छ ।
जर्मन दैनिक फ्रांकफुर्टर अल्गेमाइन जितुङ (एफएजेड)का अनुसार यसबीच ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चारपटक फोन गरे पनि मोदीले जवाफ दिएका छैनन् ।
अखबारले यो कदम मोदीको असन्तुष्टि र सावधानी दुवैलाई प्रकट गर्ने दाबी गरेको छ ।
एफएजेडले ट्रम्पले भारतीय सामानमा २५ प्रतिशत निर्यात कर लगाएको र भारतलाई मृत अर्थतन्त्र भनेको कारण मोदी रिसाएको उल्लेख गरेको छ ।
साथै, अमेरिकी कृषि व्यवसायका लागि भारतीय बजार खोल्ने दबाब, रुससँगको तेल कारोबारलाई निरन्तरता दिने भारतको अडान र त्यसकै बदलामा थपिएको ट्यारिफले सम्बन्ध थप तनावपूर्ण बनेको जनाएको छ ।
ट्रम्पले विगतमा भियतनामसँगको व्यापार सम्झौताबारे आधिकारिक सहमति नभए पनि सामाजिक सञ्जालमार्फत घोषणा गरेको घटनालाई स्मरण गर्दै मोदीले त्यस्तै जालमा फस्न नचाहेकाले फोन नउठाएको हुन सक्ने अखबारको विश्लेषण छ ।























