images
images
  • राज्य व्यवस्था समिति सभापतिको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै, बडूको नाम चर्चामा

    काठमाडौं- नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको नयाँ सभापति चयनबारे निर्णय गर्न शीर्ष नेताहरूको बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्दै छ ।

    बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा सहभागी हुनेछन् ।

    समितिको सभापतिमा मनोनयन दर्ता आज दिउँसो १ देखि ४ बजेसम्म हुनेछ भने भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।

    साउन २८ गते तत्कालीन सभापति रामहरि खतिवडाको राजीनामापछि पद खाली भएको हो ।

    सभामुख देवराज घिमिरेले भदौ ११ गते निर्वाचनको समय तोकेका छन् ।

    हालसम्म दिलेन्द्रप्रसाद बडूलाई सभापतिमा सर्वसम्मत बनाउन प्रयास भइरहेको छ भने अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानीको नाम पनि चर्चामा छ ।

    २७ सदस्यीय समितिमा कांग्रेसका ९ र एमालेका ६ जना छन् । एमालेले कांग्रेसलाई सभापति बनाउन सहयोग गर्ने संकेत गरेको छ ।

    लोसपा, जनमत र जसपाका सांसदसमेत साथ आए सत्तापक्षको संख्या १८ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images