images
images
  • जनार्दन शर्मालाई लक्षित गर्दै प्रचण्डले भने– ‘दलाल टाइपका नेतालाई माओवादीमा ठाउँ छैन’

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियासँग सम्बन्ध राख्ने व्यक्तिहरूलाई पार्टीमा स्थान नदिने स्पष्ट पारेका छन् ।

    उनले माओवादी केन्द्र नै नेपालमा समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी भएको दाबी पनि गरे ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा आर्थिक उत्पादन विभागको पहिलो बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै घुमाउरो शैलीमा नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसेको बताए ।

    उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रिया पछि समाजवादी बन्नु पर्नेमा बिचौलिया र दलाल टाइपका बनेका छन्, जसले पार्टीलाई कमजोर बनाएको छ । अब हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नुपर्छ ।’

    उनले माओवादी केन्द्रलाई समाजवादतर्फ रुपान्तरण गर्न उत्पादन सघर्ष नै आधार हुने बताए ।

    हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा नसकेको स्वीकार गर्दै प्रचण्डले पार्टीलाई समुदायमा फर्काएर उत्पादन प्राथमिकतामा राख्ने अभियान चलाउने बताए ।

    कृषि, उद्योग, जडीबुटी र पर्यटनमा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको आधार हुने भन्दै उनले सहकारी आन्दोलनलाई जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए ।

    सरकारमा हुँदा दलाल, नोकरशाही र बिचौलियाको विरुद्ध शासकीय न्याय, सामाजिक न्याय र समृद्धिको लडाइँ लडेको स्मरण गराउँदै प्रचण्डले माओवादी केन्द्र त्यस्ता प्रवृत्तिका साथ रहन नसक्ने स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images