काठमाडौं– लिपुलेक विवादबीच पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणको तयारी तीव्र बनेको छ ।
भारत–चीनबीच नेपाली भूमि लिपुलेकबाट व्यापार खोल्ने सहमतिपछि भ्रमण स्थगित हुने आशंका बढेको भए पनि परराष्ट्र मन्त्रालयले तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार भ्रमण रोकिँदैन, बरु विवादित मुद्दा उच्चस्तरीय भेटमा उठाइनेछ ।
प्रधानमन्त्री ओली भदौ १५–१६ मा चीनको तियानजिनमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चीन भ्रमणपछि ओली भदौ ३० देखि असोज १ सम्म भारत जाने तयारीमा छन् ।
परराष्ट्र मन्त्रालयले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत सीमा विवाद वार्तामार्फत मात्र समाधान हुनसक्नेमा जोड दिएको छ ।
प्रधानमन्त्रीको आसन्न भ्रमणले कूटनीतिक माध्यमबाट समस्याको समाधान अघि बढाउने विश्वास राखिएको छ ।























