काठमाडौं– चितवनको भीमोदय माध्यमिक विद्यालयमा अध्यापन गर्दै देशकै उत्कृष्ट शिक्षकको पुरस्कार जितेका डा.हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा फेरि पक्राउ परेका छन् ।
२०७६ सालमा ‘पीपी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’ प्राप्त गरेका कँडेलले त्यसअघि ‘एसियन लिडरशिप अवार्ड’ पाएको दाबी गरेका थिए ।
विद्यालयमा रहँदा पूर्वाधार र पढाइ सुधारमा योगदान पु¥याएको भन्दै उनी चर्चित बनेका थिए ।
तर, पछि अख्तियारले बीएससी र बीएका नक्कली प्रमाणपत्र प्रयोग गरेर जागिर खाएको अभियोगमा विशेष अदालतमा मुद्दा चलाएको थियो ।
अदालतले उनलाई ६ महिना कैद र १० हजार जरिवाना सजाय सुनाएको थियो ।
नेपाली कांग्रेसनिकट शिक्षक संघ हुँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय कँडेल पछिल्लो समय चितवनमा ‘कलेज कोच नेपाल’ नामक शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका थिए ।
रूपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवको बयानका आधारमा बिहीबार उनलाई पक्राउ गरेको हो ।
यादवबाट त्रिभुवन विश्वविद्यालयका सयौँ ट्रान्सक्रिप्ट, विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र र हजारौँ होलोग्राम बरामद भएको थियो ।
अनुसन्धानमा यादवले कँडेलकै योजनामा नक्कली कागजात बनाउने गरेको स्वीकारेका छन् ।
प्रहरीका अनुसार कँडेलले नेपाल–भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रमार्फत विद्यार्थीलाई विदेश पठाउने धन्दा चलाउँदै आएका थिए ।
पछिल्लो समय माल्टा पठाउने तयारी गर्दै गर्दा पक्राउ परेका उनी र यादवलाई रुपन्देही प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।
सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वागमती प्रदेश प्रशिक्षण विभागका संयोजक कँडेललाई निलम्बन गरेको छ ।
शुक्रबार केन्द्रीय अनुशासन आयोगका प्रमुख रमाकान्त सिमालले जारी गरेको पत्र अनुसार कँडेलमाथि नेपाल सरकारको अध्याधिन कानुन विपरीत कार्यमा संलग्न रहेको आरोप लागेको छ ।
रास्वपाले जारी गरेको पत्रमा भनिएको छ, ‘ललितपुर जिल्ला प्रहरी कार्यालयबाट प्रकाशित सूचनामा उहाँले शैक्षिक प्रमाणपत्र छापाखानाबाट जालसाजी गरेको प्रमाण प्राप्त भएको देखिएकाले प्रहरीको आवश्यक छानबिनमा सहयोग पु¥याउन निलम्बन गरिएको हो ।’
पत्रमा थप भनिएको छ कि अनुसन्धानमा प्रमाणित भए अन्य कानूनी कारबाहीसमेत हुने र हालसम्म कँडेलले पार्टीको कुनै जिम्मेवारी निर्वाह नगर्ने व्यवस्था गरिएको छ ।
यससँगै रास्वपाले आफ्नो संगठनभित्र कानूनी तथा नैतिक आचरणमा कडाइ गर्ने संकेत दिएको छ ।























