काठमाडौं– रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ ।
चितवन कालिका–५ पदमपुरका कँडेललाई बुधबार चितवनबाट पक्राउ गरी रूपन्देही ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।
गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतीय नागरिक अभिषेक यादवलाई नक्कली शैक्षिक कागजात र सामग्रीसहित पक्राउ गरेपछि अनुसन्धानका क्रममा कँडेलको संलग्नता फेला परेको हो ।
यादवले कँडेलकै लागि काम गरेको बयान दिएका थिए ।
पूर्वशिक्षक समेत रहेका कँडेल चितवनमा ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका छन् ।
उनले यसअघि नक्कली प्रमाणपत्र विवादकै कारण प्रधानाध्यापक पदमा अयोग्य ठहर भइसकेका थिए ।
प्रहरीका अनुसार कँडेलले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाएर विद्यार्थीलाई विदेश पठाउने काम गर्दै आएका थिए ।
हालै विद्यार्थीलाई माल्टा पठाउने तयारीसमेत गरेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।























