काठमाडौं– एमालेको विधान महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्या भण्डारीले केपी ओलीविरुद्ध खुलेर प्रतिस्पर्धामा उत्रिने घोषणा गरेकी छन् ।
उनले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै ओली जबज (जनताको बहुदलीय जनवाद) कार्यान्वयनमा असफल भएको संकेत दिँदै आफू नेतृत्वका लागि अघि बढ्ने जनाएकी हुन् ।
ओलीले भण्डारीको सदस्यता रोक्ने निर्णय गराए पनि उनले आफूलाई रोक्न नसक्ने भन्दै सक्रियता बढाएकी छन् ।
सम्पर्क कार्यालय उद्घाटनमा उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत शीर्ष नेताहरू र बागमती प्रदेशसहित विभिन्न तहका कार्यकर्ता सहभागी भए ।
भण्डारीले आन्तरिक लोकतन्त्र कमजोर बनाउने नेतृत्व शैलीविरुद्ध संघर्ष गर्ने घोषणा गर्दै ओलीलाई अप्रत्यक्ष चुनौती दिइन् ।
उनले संविधान कार्यान्वयन, सुशासन, आत्मनिर्भर अर्थतन्त्र र युवाप्रति ध्यान दिन नसकेको भन्दै ठूला दलहरूको आलोचना समेत गरिन् ।
उनको पक्षमा नेता–कार्यकर्ता खुल्दै गएका छन् ।
बागमती प्रदेश कमिटीमा दुईतिहाइ नेताहरूले भण्डारीलाई सदस्यता दिनुपर्ने धारणा राखेका छन् भने विभिन्न जिल्लामा ओलीको निर्णयको विरोध भइरहेको छ ।
यसबीच, वरिष्ठ उपाध्यक्ष पोखरेलले विचारकै टोपी लगाउनेहरूले विचार क्षतविक्षत बनाइरहेका हुन्छन् भन्दै ओलीमाथि कटाक्ष गरे ।
पार्टीभित्र अब भण्डारी–पोखरेल समूह संगठित रूपमा अघि बढ्ने संकेत देखिएको छ ।























