काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार थापागाउँस्थित मदन भण्डारी हीरक महोत्सव मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दैछिन् ।
दिउँसो २ बजे तय गरिएको उद्घाटन कार्यक्रममा भण्डारीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी हुनेछन् ।
कार्यक्रमका अनुसार कार्यालय उद्घाटनले हीरक महोत्सव नाम बोके पनि उक्त स्थान पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको रूपमा प्रयोग हुँदै आएको छ ।
भण्डारी निकट नेताहरू दैनिक रूपमा त्यहाँ भेटघाट र छलफलमा जुट्ने गरेका छन् ।
उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने प्रयास भए पनि उनको व्यस्त कार्यक्रम र अस्वस्थताको कारण भेट सम्भव भएको थिएन ।
संयोजक डोरमणि पौडेलले पनि प्रधानमन्त्रीसँग भेट नभएको पुष्टि गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले भने, ‘पूर्वराष्ट्रपतिबाट औपचारिक निमन्त्रणा आएको छैन र प्रधानमन्त्री दुई–तीन दिनदेखि कुनैसँग भेट्न नसक्ने अवस्थामा रहेको जनाएको छ ।’























