काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरुद्धमा हस्ताक्षर संकलन अभियान देशव्यापी रूपमा जारी छ ।
अभियानअन्तर्गत अहिलेसम्म ३४ लाख हस्ताक्षर संकलन भएको अभियान संयोजकहरूले जनाएका छन् ।
साथै अभियानलाई सहयोग गर्न समर्थकहरूले आर्थिक सहयोग पनि गरेका छन् ।
जसअन्तर्गत हालसम्म करिब ६५ लाख रुपैयाँ संकलन भएको छ ।
यो अभियानलाई थप व्यापक बनाउन देश यात्रा कार्यक्रमसमेत सुरू गरिएको छ ।
उक्त यात्रा पश्चिम नेपालबाट प्रारम्भ भई क्रमशः देशका विभिन्न भू–भाग हुँदै पूर्वसम्म पुग्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
हिजोदेखि सुरू भएको देश यात्रा सुदूरपश्चिमको कञ्चनपुरबाट प्रारम्भ भएको हो ।
अभियानको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहरा गरेका छन् ।
रास्वपाका अनुसार देशभरका समर्थकहरूलाई जोड्दै लामिछानेविरुद्ध भइरहेको अन्यायपूर्ण व्यवहारविरुद्ध आवाज उठाउने उद्देश्यसहित यो अभियान अघि बढाइएको हो ।























