काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिनिधिसभामा सत्तापक्षमा बस्न सिट व्यवस्थापन गर्न सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा पठाइएको पत्रबारे बुधबारको कार्यव्यवस्था बैठकमा सभामुखले जानकारी गराएका थिए ।
सो बैठकमा उपस्थित नाउपा संसदीय दल नेता गंगाराम चौधरीलाई सभामुखले ‘सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको छ, तपाईंहरू कहाँ बस्ने हो निक्र्यौल गर्नुस्’ भन्दै स्पष्ट राय दिन आग्रह गरेका थिए ।
तर चौधरीले केही नभनी टाउको मात्र हल्लाएका थिए ।
असार २२ गते नाउपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षमा सिट व्यवस्थापन गराउन पत्र दिई त्यहीअनुसार बस्दै आएको थियो ।
तर, मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा बसेको सत्तापक्षका दलहरूको बैठकमा नाउपाको उपस्थिति देखिएको छ ।
हाल प्रतिनिधि सभामा नाउपाका ४ सांसद छन् ।























