काठमाडौं– भारत र चीनले फेरि एकपटक लिपुलेक पासमार्फत् द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका छन् ।
लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराभित्र पर्ने भू–भाग हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणामा भाद्र २–३ मा भारत भ्रमण गर्ने क्रममा भएको वार्तामा उक्त सहमति भएको हो ।
भारतीय विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, जयशंकर–वाङ वार्तामा लिपुलेक, शिपकी ला र नाथू ला पासमार्फत व्यापार पुनः खोल्ने सहमति भएको उल्लेख छ ।
यसअघि सन् २०१५ मा मोदी–ली खछियाङबीच पनि लिपुलेक हुँदै व्यापार विस्तार गर्ने सहमति भएको थियो ।
नेपाललाई जानकारी नै नदिई भएको उक्त निर्णयप्रति नेपालले कडा विरोध जनाएको थियो र भारत–चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो ।
गलवान झडपपछि चिसिएको भारत–चीन सम्बन्ध अहिले सुधारतर्फ उन्मुख हुँदा फेरि नेपालको भूमि प्रयोग गर्ने सहमति भएको हो ।
तर, लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र नेपालले दाबी गरे पनि भारतको नियन्त्रणमा छ ।
भारतले २०१९ मा प्रकाशित नक्सामा त्यस भू–भागलाई आफ्नो सीमाभित्र पारेपछि विवाद चर्किएको हो ।
नेपालले २०७७ जेठमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे पनि अझै औपचारिक रूपमा अन्तर्राष्ट्रिय समुदायलाई बुझाएको छैन ।
यता चीनले २०२३ मा जारी नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारततर्फ देखाएको छ ।























