काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा फरक मतबारे निवेदन दर्ता गराएका छन् ।
साउन ६ गते सम्पन्न केन्द्रीय कमिटीको नवौं बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्कन नदिने निर्णय भयो ।
त्यसबेला उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र ज्ञवालीसहित स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाउँदै लिखित नोट अफ डिसेन्ट समेत बुझाएका थिए ।
तर, महासचिव शंकर पोखरेलले ‘फरक मत कर्ण थापाको मात्र हो’ भन्दै पाण्डे र ज्ञवालीको असहमति नै बेवास्ता गरेपछि ज्ञवालीले पुनः निवेदन दिएका हुन् ।
ज्ञवालीले फरक मतमाथि छलफल हुनुपर्ने माग गरेका छन् ।
तर, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘कर्ण थापाबाहेक अरूले फरक मत नै राखेका छैनन्’ भन्दै छलफलको आवश्यकता नरहेको दाबी गरेका छन् ।
उनले फरक मतलाई अन्तरपार्टी निर्देशन (अपानि) मा समावेश गर्ने परम्परा नभएको पनि बताए ।
एमाले विधानका धारा ७१(३), ७६, ७७ र ७८ मा फरक मत राख्ने, छलफल गर्ने र त्यसलाई मान्यता दिने व्यवस्था भए पनि भण्डारी सम्बन्धी विवादमा त्यसको कार्यान्वयन नगरी नेतृत्वले प्रत्यक्ष निर्णय लागू गरेको आलोचना उठिरहेको छ ।























