काठमाडौं– कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेपछि मंगलबार राजनीतिको माहोल तात्यो ।
त्यसपछि माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सिंहदरबारमा बैठक बस्दै उपसभामुखलाई हटाउने तयारीको कडा विरोध गर्ने निर्णय गरेका छन् ।
विपक्षी दलहरूले संवैधानिक परिषद्मा प्रभाव जमाउन रानालाई हटाउन खोजिएको भन्दै सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिए ।
माओवादी केन्द्रले कांग्रेस–एमाले गठबन्धनलाई अधिनायकवादी बाटोमा अगाडि बढेको आरोप लगायो। रास्वपा, समाजवादी र समाजवादी एकीकृतका नेताहरूले पनि सत्ता पक्षको कदमलाई लोकतन्त्रविरोधी भन्दै प्रतिरोध गर्ने घोषणा गरे ।
संविधानअनुसार सभामुख वा उपसभामुख हटाउन दुईतिहाइ बहुमत चाहिन्छ ।
हाल संसद्को कार्यरत सदस्य संख्या २७४ भएकाले १८३ मत आवश्यक हुन्छ ।
कांग्रेस (८७), एमाले (७७), जसपा (७), जनमत (६) र लोसपा (४) गरी सत्ता गठबन्धनसँग १८१ मत पुग्छ ।
बाँकी मतका लागि नाउपा वा अन्य दलहरूको समर्थन जरुरी देखिन्छ ।
सत्तापक्षसँग तत्कालै दुईतिहाइ नभएकाले प्रस्ताव दर्ता नगर्ने तर तयारी अवस्थामा राख्ने संकेत गरिएको छ ।
विपक्षी दल भने यसलाई असफल पार्ने रणनीतिमा जुटेका छन् ।
यसका साथै सत्तारूढ कांग्रेस नेता डा.शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि उपसभामुख रानालाई हटाउने रणनीतिको विपक्षमा छन् ।























