काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुशासनको अभियान चलाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा दिन सरकारको जिम्मेवारी रहेको बताए ।
प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा नागरिकको अधिकार भएकाले राज्यका सबै निकायले त्यसको प्रवद्र्धनमा सक्रिय रहनुपर्ने बताए ।
भ्रष्ट र पथभ्रष्ट व्यक्ति पदमुक्त भए पनि समाजको सम्मान नपाउने उनको भनाइ थियो ।
उनले भने, ‘बिना कुनै डर छानबिन र अनुगमन गर्नुस्, मेरो कमजोरी भए पनि भन्नुस् । गलत काम गर्न खोज्नेले त्यो नगर्न र मेरोबारेमा गलत काम गर्न खोज्नेलाई झपारेर पठाउनुस् ।’
ओलीले सबैलाई पछाडि नपरिने गरी सम्मानजनक जीवन यापनका लागि दृढ संकल्प गर्न संयुक्त राष्ट्रसङ्घको नो वान लेफ्ट बिह्याण्ड नीति सम्झाए ।
उनले विकासको लागि छिटो अघि बढ्न र असन्तुष्टि फैलाएर अराजकता गर्ने प्रयासबाट बच्न ज्ञान र सचेतना आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक रूपमा उर्वर भूमि र ज्ञानको उद्भवस्थल भएकाले विकासमा पछाडि नपर्ने विश्वास व्यक्त गरे र सतर्कता केन्द्रको सक्रियता आवश्यक रहेको बताए ।























