images
images
  • बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु, २० घाइते

    काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलमा आज (सोमबार) बिहान बस र विङ्गर आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान ७:१५ बजे काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन् ।

    दुर्घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाले ज्यान गुमाएपछि मृतक संख्या ३ पुगेको हो । मृतकमध्ये २ पुरुष र १ महिला रहेका छन् ।

    भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचाररत १५ जनामध्ये २ पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही अस्पतालमा एक जनाको अवस्था गम्भीर छ भने १२ जनालाई मध्यम चोटपटक लागेको छ ।

    इनरुवास्थित सुनसरी जिल्ला अस्पतालमा उपचाररत ५ जनामध्ये १ महिलाको मृत्यु भएको छ ।

    त्यहाँका ३ जनालाई थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पठाइएको छ भने १ जनालाई सामान्य चोट लागेको छ ।

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र १ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए ।

    प्रहरीले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ भने विङ्गर चालक घाइते भई उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images