काठमाडौं– सुदूरपश्चिमका अछाम र बाजुराका मुख्य सडक निर्माण अलपत्र छन् ।
स्थानीय सरकार तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदासमेत ठेकेदारहरूको लापरवाहीका कारण सडक निर्माण अधुरो रहँदा स्थानीयवासी हैरान छन् ।
बाजुराको कोल्टी–मार्तडी र अछामको जयगढ–रामारोशन सडकखण्ड ठेकेदार इन्द्र बानियाँसँग सम्बन्धित कम्पनीले निर्माण गरिरहेको छ ।
तर, वर्षौंदेखि ठेक्का लिई पनि बानियाँले काम सम्पन्न गरेका छैनन् ।
विडम्बना त्यही बानियाँ अहिले बागमती प्रदेशको मुख्यमन्त्री बन्ने तयारीमा छन् ।
माओवादी सांसद अक्कल बहादुर रावलले प्रदेश सभामै यो विषय उठाउँदै काम नगर्ने ठेकेदारलाई पुरस्कृत गर्न नहुने बताएका छन् ।
उनले बानियाँको कम्पनीले काममा चरम लापरवाही गरेको पटक–पटक म्याद थपिए पनि सडक नबनेको उल्लेख गरे ।
अछामको जयगढ–रामारोशन ३८ किमी सडक तीन प्याकेजमा निर्माण भइरहेको छ ।
तेस्रो प्याकेजको २० किमी सडकको जिम्मा बानियाँको पीएस बानियाँ जेभीले लिएको हो ।
२०७४ मा सुरु भएको काम अझै अधुरो छ ।
१५ करोड बजेट आएकोमा साढे १३ करोड फिर्ता भएको छ ।
त्यस्तै बाजुराको कोल्टी–मार्तडी सडकखण्डको दोस्रो र तेस्रो प्याकेजको काममा समेत बानियाँ साझेदार छन् ।
०७५ देखि सुरु भएको सडक निर्माण अझै अधुरो छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले काम नगरेको र झुठा बहानामा म्याद थप्न खोजेको छ ।
अधिकांश खण्डमा आधामात्रै काम भएको बताइएको छ ।
सडक अलपत्र बनाउने बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीको दौडमा रहँदा नागरिकस्तरमा आलोचना चुलिएको छ ।


विश्व खबर 




















