images
images
  • एमालेले सत्ता नत्यागे लामा मुख्यमन्त्रीमा सुरक्षित !

    काठमाडौं– दलको नेताबाट पदच्युत भए पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा नदिँदा उनी संवैधानिक रूपमा हटाउन कठिन बनेको छ ।

    बुधबार कांग्रेस प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँ नयाँ नेता चयन भएका छन् ।

    ३७ सांसदमध्ये २२ ले बानियाँलाई समर्थन गरे भने लामाले १४ मत पाए । एक मत बदर भयो ।

    तर, लामाले राजीनामा दिने वा नदिनेमा निश्चित भएको छैन ।

    उनले संविधानमा मुख्यमन्त्री बन्न दलको नेता हुनुपर्ने बाध्यता नभएको भन्दै एमालेसँग छलफल जारी रहेको बताए ।

    संविधानको धारा १६८(२) अनुसार स्पष्ट बहुमत नभएको अवस्थामा गठबन्धनको समर्थन प्राप्त सदस्यलाई मुख्यमन्त्री बनाउन सकिने व्यवस्था छ ।

    त्यसैले दलको नेता गुमे पनि लामालाई अविश्वासको प्रस्ताव दर्ता नगरी हटाउन सकिँदैन ।

    अविश्वासको प्रस्ताव भने नियुक्ति भएको दुई वर्षसम्म राख्न नमिल्ने भएकाले त्यो विकल्प अहिले छैन ।

    तर, एमालेले सरकारबाट बाहिरिने निर्णय गरेमा लामा ३० दिनभित्र विश्वासको मत लिन बाध्य हुनेछन् ।

    बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा लामालाई काठमाडौं बोलाउने निर्णय भएको थियो ।

    सोही निर्णयअनुसार लामा काठमाडौं आएका छन् । देउवासँग भेटेका लामाले आफ्‌नो अपमान गरेमा राजीनामा नदिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images