काठमाडौं– हरेक वर्षको बर्खायाममा डेंगी र कोरोना जस्ता रोगको संक्रमण बढ्ने गरेको छ । शून्यमा पुगिसकेको जापानिज इन्सेफलाइटिसको संक्रमण फेरि देखापरेको छ । पहिले गर्मी मौसममा तराई क्षेत्रमा मात्र देखिने गरेको डेंगीको प्रकोप अहिले पहाड हुँदै हिमाली जिल्लामा समेत देखिन थालेको छ ।
पछिल्लो समय डेंगी सार्ने प्रजातिका लामखुट्टे हिमाली बस्तीमा पनि देखिएका छन् । अहिले देशका आधिकांश जिल्लामा डेंगी संक्रमण देखिइसकेको छ । त्यसैले यो समस्या जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै गएको छ । सन् २००४ देखि देखिन थालेको डेंगी २०१९ यता लगातार बढ्दै गएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोग यस वर्ष मात्रै ६० हजारभन्दा बढी व्यक्तिलाई देखिने आकलन गरिएको छ । यस्तै, कुनै समय महामारीको रूप लिएको कोरोना संक्रमणले पनि बेलाबेला दुःख दिइरहेकै छ भने जापानिज इन्सेफलाइटिसको त्रास पनि उत्तिकै बढ्दो छ । यसै सन्दर्भमा सौर्य दैनिकका लागि चमिना भट्टराईले सरुवा रोग विशेषज्ञहरू र सरोकारवालासँग गरेको संवादका आधारमा यो सामग्री तयार पारिएको छ ।
०००
अबका ४ महिना डेंगी संक्रमणको जोखिम उच्च
डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य मन्त्रालय
लामखुट्टेलाई आफ्नै ठाउँबाट नियन्त्रण गर्न नसकेको अवस्थामा जापानिज इन्सेफलाइटिस, जन्डिस जस्ता रोकको सिकार हुनपर्ने अवस्था आउन सक्ने भएकाले पनि सचेत रहन आवश्यक छ
साउनदेखि असोजसम्मको ४ महिना लामखुट्टे र प्रदूषित पानीजन्य रोगको जोखिम हुने भएकाले सबैले सचेत हुनुपर्ने अवस्था छ । साथै अनेक प्रकारका विपद्का कारण पनि संक्रमणजन्य रोगको सामना गर्नुपर्ने अवस्था आउन सक्ने हुन्छ । त्यसैले पनि बर्खाको समयमा सबैले सचेत हुनुपर्नेछ । सरकारले यी सबै अवस्थाबाट बच्न पूर्वतयारीसमेत गरेको छ । यस्ता विषयमा सरकारले मात्रै नभएर जनताले पनि सचेतना अपनाउनुपर्ने हुन्छ । सबै नागरिकले आफू बसेको स्थानमा यस्ता रोगबाट बच्न सचेतना अपनाउनुपर्छ । सरकारको एक्लो प्रयासले यस्ता समस्या नरोकिने भएकाले पनि यसमा सहयोग पुर्याउन नागरिकसमेत लाग्नुपर्छ । यति गर्न सकिएन भने भोलिका दिनमा डेंगी र कोभिड जस्ता रोगको संक्रमण बढेर जान सक्छ । लामखुट्टेलाई आफ्नै ठाउँबाट नियन्त्रण गर्न नसकेको अवस्थामा डेंगीसँगै जापानिज इन्सेफलाइटिस, जन्डिस जस्ता रोगको सिकार हुनपर्ने अवस्था आउन सक्ने भएकाले पनि सचेत रहनु आवश्यक छ ।
जनता स्वास्थ्यमा सचेत नभएको अवस्थामा राज्यले जतिसुकै तयारी गरे पनि त्यो पर्याप्त हुँदैन । पछिल्लो समय डेंगी, कोभिड र जापानिज इन्सेफलाइटिस जस्ता रोगको संक्रमण बढेको छ । यसमा सरकार र नागरिक सबैको दायित्व रहन्छ । यसका लागि साउन महिनादेखि हरेक शुक्रबार १ घण्टा सरकारी कार्यालयको सफाइ कार्यक्रम चलाइएको छ । जहाँ बढी संक्रमित छन्, त्यस स्थानका पालिकामा विशेष अभियान जारी छ । यसका साथै भर्चुअल र जुम मिटिङमार्फत् पनि यसबारे जानकारी दिने र सचेत पार्ने काम भएको छ ।
यसैगरी टेलिभिजन, रेडियो र सम्पूर्ण सामाजिक सञ्जाल प्रयोग गरी सन्देश दिने काम गरिएको छ । सन्देश मात्र पर्याप्त नहुन सक्छ । हामी जहाँ छौँ, त्यहीँ सचेत हुने हो । साथै हरेक नागरिकले आफू बस्ने स्थान सफा राख्ने र लामो बाहुला भएको लुगा लगाएर हिँड्नुपर्छ । त्यसले पनि लामखुट्टेको टोकाइ र संक्रमणमा नियन्त्रण गर्छ । यस्तै घरका झ्यालढोकामा जाली लगाउनुपर्छ । अबको ४ महिना डेंगी संक्रमणको जोखिम उच्च रहेकाले यो समयमा हरेक नागरिकले सचेत हुनुपर्छ ।
गत वर्षको तुलनामा यो वर्ष डेंगी रोग कम देखापरेको छ । गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशत मात्रै संक्रमित देखापरेका छन् । अहिले आएर संक्रमण बढ्न थालेको छ । यसो हुनुमा मौसम प्रमुख कारण हो । कहिले पानी पर्ने, कहिले रोकिने अवस्था हुँदा संक्रमण देखिएको हो । खाल्डोमा पानी जम्नु र खुला रूपमा पानी भण्डारण गरेर राख्नाले पनि लामखुट्टे बढी देखिने गर्छ र डेंगीको संक्रमण बढ्छ । यो वर्ष डेंगी संक्रमण कम हुनमा सरकारको अभियानले पनि काम गरेको छ । केन्द्रका साथै स्थानीय स्तरमा पनि यसबारेमा अभियान चलिरहेको छ । आमनागरिकलाई सचेत पार्न सञ्चारमाध्यमले पनि भूमिका खेलेका छन् ।
०००
शून्यमा पुगेको जापानिज इन्सेफलाइटिस फेरि देखिन थाल्यो
जापानिज इन्सेफलाइटिसका बारेमा बेवास्ता गर्न हुँदैन । यो अझै गम्भीर विषय हो । जापानिज इन्सेफलाइटिस भएमा जोकोहीलाई बाँच्न कठिन हुन्छ र बाँचेमा पनि पूर्ण स्वस्थ हुन नसक्ने अवस्था आउन सक्छ
डा. शेरबहादुर पुन, रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
अहिले पहिलाजस्तो कोरोनाबाट डराइहाल्ने अवस्था छैन । तर, डेंगीको अवस्था भने बढ्दै गएको छ । बाहिर देखिने गरी वा अस्पतालमै भर्ना भएर बस्ने गरी डेंगीका बिरामी आउने अवस्था निकै कम भए पनि यसको जोखिम उच्च नै छ । देशका अन्य भागमा भन्दा काठमाडौँमा डेंगीका बिरामी बढी देखिएका छन् । त्यसमा यहाँका नागरिक सचेत भएकाले बिरामी हुनासाथ अस्पताल आउँदा पनि बिरामी बढेको देखिएको हुन सक्छ । संक्रमण छ/छैन भन्ने पनि अस्पताल आएकै आधारमा भनिने हो । यसमा काठमाडौँ महानगरपालिकाले त सतर्क रहन अपिलसमेत जारी गरिसकेको छ ।
अहिले देशका कैयौँ स्थानमा डेंगीका साथै वर्षामा देखिने अन्य सरुवा रोगको संक्रमणले त्रास पैदा गरेको छ । काठमाडौँमा नदेखिए पनि तराईंमा भने जापानिज इन्सेफलाइटिसको संक्रमण देखिएको छ । मलाई त यो समस्या आउला भन्ने पहिला नै लागेको थियो । म मेडिकल अफिसर भएका बेला जापानिज इन्सेफलाइटिसबाट धेरै मान्छेको मृत्यु भएको थियो । पछि भ्याक्सिन आएपछि त्यो करिब–करिब नियन्त्रणमा आएको थियो । शून्यमा पुगेको जापानिज इन्सेफलाइटिसबारे चर्चा हुन छाडेको थियो ।तर, अघिल्ला २ वर्षदेखि यो देखापरेको छ । यसबारेमा सबैलाई जानकारी हुनुपर्छ । यसका बारेमा सबैले थाहा पाउनुपर्ने र सचेत हुन के गर्नुपर्छ भन्ने जानकारी हुनुपर्छ । टेकु अस्पतालमा डेंगीका बिरामीको चाप बाहिर हल्ला भएजस्तो भने छैन ।
काठमाडौँमा डेंगी धेरै बढेको भन्दा पनि जनसंख्या धेरै भएकाले सचेत हुन भनिएको हुन सक्छ । यस्तो समस्यामा जनस्तर वा सरकारले मात्रै चाहेर समस्या समाधान हुँदैन । नागरिकले आफू बस्ने ठाउँ र त्यस वरपर सफा राख्नुपर्छ नै । साथै सरकारी तवरबाट पनि यसमा सक्रियता अपनाउनुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको तर्फबाट बढी नै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने हुन्छ ।सबैभन्दा जिम्मेवार निकाय भनेको स्वास्थ्य मन्त्रालय नै हो । लामखुट्टेको लार्भा निस्कन सक्ने स्थानमा त्यसलाई नष्ट गराउन अपनाउनुपर्ने कार्य गर्ने र बढीभन्दा बढी जनस्तरमा चेतना जगाउनुपर्ने हुन्छ । हरेक नागरिकले आफू बस्ने वरपर हुने खाल्डाखुल्डी र पानी जम्न सक्ने स्थानमा ध्यान दिनुपर्छ र त्यहाँ पानी नजम्ने बनाउन अपनाइने सावधानी आवश्यक छ ।
सरकारले गर्ने अर्को काम भनेको प्रचारप्रसार पनि हो । सरकारले घोषणा गरेको ३ महिने अभियानको अवधिलाई ख्याल गरेर सरकार र नागरिक दुवैले सक्रियतासाथ काम गर्नुपर्छ । यसमा सरकार प्रमुख जिम्मेवार हो नै, साथै नागरिकले पनि आफ्नो स्वास्थ्यका बारेमा सचेत भएर बच्ने उपाय अपनाउनुपर्छ । कहाँ खाल्डो छ ? कहाँ पानी जमेको छ र लामखुट्टेको बासस्थान छ भनेर खोज्दै हिँड्न सम्भव नभएकाले त्यस्ता स्थानलाई स्थानीय स्तरमै निर्मूल पार्ने दायित्व नागरिकको पनि हो । यसका साथै स्थानीय तहले पनि यसमा सहयोग गर्नु आवश्यक छ ।
पछिल्लो समय बिरामी बढ्नुको कारण लामखुट्टे बढ्नु र वर्षाका कारण ठाउँठाउँमा पानी जमेका कारण पनि समस्या आएको हो । पानी पर्ने क्रम ह्वातै बढ्ने र रोकिने जस्ता कार्यले पनि लामखुट्टे र त्यसको टोकाइसँगै संक्रमण बढ्छ । जति लामखुट्टे सक्रिय हुन्छ, संक्रमण र जोखिम पनि बढ्ने गर्छ । तराईमा मात्रै लामखुट्टे हुन्छ भन्ने होइन, पछिल्ला वर्षहरूमा काठमाडौँमा पनि धेरै मात्रामा लामखुट्टे बढेकाले संक्रमण पनि बढेको छ । त्यसैले अब जहाँतहीँ लामखुट्टे र त्यसको टोकाइबाट हुन सक्ने संक्रमणबारे सबै सचेत हुनपर्छ ।
साथै, जापानिज इन्सेफलाइटिसका बारेमा बेवास्ता गर्न हुँदैन । यो अझै गम्भीर विषय हो । जापानिज इन्सेफलाइटिस भएमा जोकोहीलाई बाँच्न कठिन हुन्छ र बाँचेमा पनि पूर्ण स्वस्थ हुन नसक्ने अवस्था आउन सक्छ । जापानिज इन्सेफलाइटिस भएको मान्छेमा नसासम्बन्धी समस्या हुन सक्ने भएकाले निकै सतर्क रहनुपर्ने हुन्छ । सकेसम्म त्यसबाट जोगिने उपाय अपनाउनुपर्छ । पछिल्लो समय देशका विभिन्न स्थानमा यसका बिरामी देखिएको र यो चिन्ताको विषय बनेको छ । यसमा सबै पक्षको ध्यान जानुपर्ने देखिन्छ । यसलाई हेलचेक््रयाइँ गर्न नहुने र संक्रमण हुन नदिने उपायका बारेमा सचेत रहन सबैले गम्भीर हुनुपर्छ ।नागरिक सचेत भएकाले पनि ज्वरो आएपछि जँचाउन आउने गर्नुहुन्छ । शंका लागेर जोकोही जँचाउन आउनु राम्रो पनि हो । तर, ज्वरो आएका सबै बिरामीमा डेंगी संक्रमण देखिने गरेको छैन ।
०००
डेंगी संक्रमण नै मुख्य चुनौती
डा. अनुप बाँस्तोला, सरुवा रोग विशेषज्ञ
हामी आफैँले बुझेर वा नबुझेर गमला राख्ने वा अन्य कुनै नाममा घरभित्रै लामखुट्टे पालिरहेको अवस्था छ । एक पटक डेंगी संक्रमण भएको मान्छेमा फेरि दोहोरिएर भएमा जोखिम हुन सक्छ । कतिपय अवस्थामा ज्यानै जान सक्छ
यतिबेला बढी मात्रामा डेंगीको संक्रमण देखिएको छ । अहिले डेंगीका बिरामी बढे पनि अघिल्लो वर्षको भन्दा कम छ । अहिले डेंगी सचेतना महिना घोेषणा गरी खोज्ने र नष्ट गर्ने अभियान चलिरहेको छ । यसमा सरकारी निकायदेखि विभिन्न संस्थासमेत लागिपरेका छन् । सबै क्षेत्रको चासो यसलाई कसरी नियन्त्रण गर्ने भन्ने छ । डेंगी फैलिन नपाओस् भनेर वित्तीय कार्यालयमा समेत सरसफाइ गर्ने अभियान चलिरहेको छ । पानी जम्ने स्थानको पहिचान गरी लामखुट्टेको वृद्धि विकास कम गर्ने अभियान समेत चलिरहेको छ । यसका बारेमा सबैभन्दा प्रभावकारी योजना भनेको लामखुट्टेको लार्भा नष्ट गर्नु नै हो ।
केही समयअघिसम्म तराईका जिल्लामा मात्रै रहेको यो संक्रमण सन् २०१८ को अन्तिमदेखि पहाडी जिल्लाहरूमा पनि देखिएको हो । २०१९ देखि त यो ७७ वटै जिल्लामा पुगेको छ । डेंगी संक्रमण अहिले मात्रै होइन, हाम्रा नातिपनातिको पालासम्म भइरहन सक्छ । जहिलेसम्म लामखुट्टे रहन्छ, यस्ता रोग रहिरहन्छन् । त्यसका बारेमा स्वास्थ्य शिक्षामा सचेत बनाउन साउन महिनादेखि डेंगी सचेतना महिना भनिएको छ । लामखुट्टे रहिरहने र संक्रमण भइरहेमा डेंगी मात्रै होइन, यससँग सम्बन्धित अन्य प्रकारका रोग लाग्न सक्छ ।
एउटा व्यक्तिलाई दोस्रो तेस्रो पटक डेंगी हुन सक्छ । चौथो पटक भएमा बिरामी सिकिस्त हुने र अरू समस्या आउन सक्छ । त्यस्तो अवस्थामा मृत्युसमेत हुन सक्ने भएकाले आमनागरिक सचेत हुनुपर्ने अवस्था छ । यद्यपि अहिले संक्रमणको दर, अघिल्लो वर्ष यतिबेला जस्तो थियो, त्यस्तो देखिएको छैन । अहिले डेंगी संक्रमण मुख्य चुनौतीका रूपमा छ । यसका कारण जटिलता आउन सक्ने धेरै सम्भावना छ । त्यसैले स्कुल, घरदेखि वडासम्म यसबारेमा सचेत हुनुपर्ने छ ।
एक पटक डेंगी भएको मान्छेमा फेरि दोहोरिएर संक्रमण भएमा जोखिम हुन सक्छ । कतिपय अवस्थामा ज्यानै जान सक्छ । त्यसैले हामीले कुनै अवस्थामा डेंगी हुन सक्ने अवस्थाबाट जोगिने र संक्रमण दर घटाउनुपर्ने हुन्छ । त्यसमा सबैको सहभागिता र सक्रियताको खाँचो छ । अझ हप्तामा १ पटक पानी पर्ने र घाम लाग्ने बेला भदौ–असोजमा यसको संक्रमण बढेर जोखिम हुने अवस्था हुन सक्छ । त्यसैले अहिलेदेखि नै लामखुट्टेको वृद्धि र संक्रमण रोक्न लाग्नुपर्छ । जो जहाँ छ, त्यहीँ यसलाई नियन्त्रण गर्न लाग्नुपर्छ । जसरी बाग्मती सरसफाइ अभियान गरियो, त्यसैगरी यसमा अभियान चलाएर लाग्नुपर्छ ।
यसका लागि मुख्य गरी टायर, गमला राख्ने प्लेट, जहाँ पानी हुन्छ, त्यस्ता चिजले पनि लामखुट्टेको वृद्धि भइरहेको हुन्छ । हामी आफैँले बुझेर वा नबुझेर गमला राख्ने भन्दै घरभित्र लामखुट्टे पालिरहेको अवस्था छ । लामुखुट्टेको टोकाइबाट डेंगी, इन्सेफलाइटिज, मलेरिया, चिकनगुनिया जस्ता अन्य रोग पनि लाग्न सक्छन् । त्यसैले सबैले सचेतना अपनाउनुपर्छ । रोगको लक्षणअनुसार चिकित्सकको परामर्श लिन आवश्यक छ ।
०००
डेंगीका लक्षण
– एक्कासि ज्वरो आउने,
– आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने
– थकान महसुस हुने
– टाउको, मांसपेसी तथा जोर्नी दुख्ने
– वाकवाकी लाग्ने वा वान्ता हुने
०००
सुरक्षित रहने तरिका
– लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्य मास्क लगाउने
– घरवरपर प्लास्टिक, सिसा, खपटा, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
– खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
– पानीको नाली, ढल, पोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्किने
– खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
– पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
– कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेलले सफा गर्ने
– बेलाबेला साबुनपानीले मिचीमिची हात धुने र भौतिक दूरी कायम गर्ने
– सुत्ने बेला झुलको प्रयोग गर्ने


विश्व खबर 



















