images
images
  • नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले नयाँ अध्यक्षमा लालवीर चौधरीलाई चयन गरेको छ। काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले पार्टी संरक्षक र प्रतिनिधि सभा सदस्य रेशम चौधरीका बाबु लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

    अध्यक्ष बनेपछि लालवीरले पत्रकारहरूसँग कुरा गर्दै बैठक र प्रक्रिया नअपनाएको आरोप लागेकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठलाई सहकार्यका लागि आग्रह गरे। उनले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि रूपन्देही–३ मा उम्मेदवारी दिने योजनाअनुसार नेतृत्व परिवर्तन गरिएको बताए।

    श्रेष्ठ डेढ वर्षसम्म बैठक नगरेको र पार्टीमा संवादहीनता बढेको लालवीरको आरोप छ। रञ्जिता पक्ष भने अध्यक्ष हटाउने यो प्रक्रिया अवैध भन्दै निर्वाचन आयोगले मान्यता नदिने विश्वासमा रहेको छ।

    २०७८ सालमा रेशम चौधरी जेलमै रहँदा पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा नाउपा गठन भएको थियो। पछि रेशम पार्टी अध्यक्ष बने पनि निर्वाचन आयोगले वैधता नदिँदा पार्टी पुरानो कार्यसमितिमा फर्किएको हो। उक्त निर्णयविरुद्ध रेशम सर्वोच्च अदालत गएका छन्।

    रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गा घुस प्रकरणमा मुछिएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मा वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी थिइन्। अबको नेतृत्व परिवर्तनले पार्टीको आन्तरिक विवाद थप चुलिने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images