पोखरा– पोखरा महानगरपालिका–११, फूलबारीकी ७४ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। गण्डकी प्रदेशमा केही समयपछि फेरि देखिएको कोरोना संक्रमणका बीच यो पहिलो मृत्यु हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। मृतक महिला लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले असार २५ गते ती महिलामा कोरोना पुष्टि भएको जानकारी दिए। उनले भने, “मृत्यु भएको पुष्टि पक्का हो। तर अरु दीर्घरोग पनि भएकाले मृत्युको कारण के हो भनेर ठोकुवा गर्न चिकित्सकको मत आवश्यक पर्छ।”
गण्डकी प्रदेशमा हाल ८ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ५ जना कास्की, २ जना बागलुङ र १ जना स्याङ्जामा रहेका छन्। लामो समयपछि संक्रमण फेरि देखिन थालेपछि प्रदेशभर सतर्कता अपनाउन आग्रह गरिएको छ।























