images
images
  • गाजामा भोकले तड्पिएका नागरिकमाथि इजरायलले दाग्यो गोली

    काठमाडौं : इजरायली सेनाको आक्रमणमा संयुक्त राष्ट्रसंघको सहायता पर्खिइरहेका कम्तीमा ६७ जना प्यालेस्टिनी मारिएका छन्।

    गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले राहतको पखाईमा रहेकाहरुमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली चलाएको दाबी गरेको छ।

    राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका अनुसार सहायता सामग्री बोकेका २५ ट्रक इजरायलबाट प्रवेश गरेलगत्तै भोकले ग्रसित ठूलो भीड जम्मा भएको थियो, जसमाथि इजरायली सेनाले गोली चलायो। इजरायली रक्षा बल आईडीएफले तत्कालीन खतरा हटाउन चेतावनी स्वरूप गोली प्रहार गरेको दाबी गरेको छ।

    गोली प्रहारबाट कसैको मृत्यु वा अन्य हताहतिका विषयमा इजरायली सेनाले कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा भोकमरी चरम बन्दै गएको र शनिबार मात्र १८ जनाले भोककै कारण ज्यान गुमाएको जानकारी दिएको छ।

    आइतबार एकैदिन गाजामा इजरायली सेनाको गोली प्रहारबाट ९३ जना मारिएका थिए। यसैबीच, इजरायली सेनाले मध्यगाजाको भीडभाडयुक्त डेइर अल–बालाह क्षेत्रमा सर्वसाधारणलाई खाली गर्न आदेश दिएको छ, जसले सम्भावित ठूलो सैन्य कारवाहीको संकेत दिएको छ। संयुक्त राष्ट्रसंघले गाजामा खाद्य संकट गहिरिंदै गएको बताउँदै आपतकालीन राहतको माग गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images