काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिने चेतावनी दिँदै आए पनि हाल त्यसमा अन्योल देखिएको छ ।
असार ७–८ मा बसेको कार्यकारिणी बैठकले सरकार पूर्णरूपमा असफल भएको ठहर गरेपछि जसपाले समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर, अध्यक्ष उपेन्द्र यादवले संसदीय बैठक आह्वान नगरेपछि औपचारिक निर्णय भएन ।
यद्यपि सोमबार अध्यक्ष यादव र वरिष्ठ उपाध्यक्ष राजकिशोर यादव प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग बालुवाटारमा भएको छलफलमा सहभागी भएपछि समर्थन फिर्ताको चेतावनी तत्कालका लागि मत्थर भएको छ । छलफलको केन्द्र भूमि विधेयक रहेको थियो ।
जसपाले विधेयकले सुकुमवासी र भूमिहीनको समस्या समाधान नगर्ने तथा प्रदेश सरकारको अधिकार अतिक्रमण गर्ने भन्दै असन्तुष्टि जनाएको छ । कांग्रेसका पनि दर्जनभन्दा बढी सांसदले विधेयक संशोधनको माग राखेका छन् । यसै कारण संसदको कार्यसूचीबाट विधेयक हटाइएको थियो ।
विवाद समाधानका लागि कांग्रेस सभापति देउवाले कार्यदल गठनको प्रस्ताव राखेका छन् । सहमति जुटे जसपाको सरकार प्रवेशबारे छलफल अघि बढ्ने सत्ता नेताहरू बताउँछन् ।
जसपाका प्रवक्ता मनिष सुमनले समर्थन औपचारिक रूपमा फिर्ता लिएको नभए पनि सरकारसँगको सम्बन्ध यथास्थानमै रहेको बताए । सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, आर्थिक सुधार र भूमि विधेयकमा स्पष्ट रोडम्याप नदिएसम्म समर्थन कायम नरहने उनले चेतावनी दिएका छन् ।























