काठमाडौं– युक्रेन र नाटो साझेदार देशहरूबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ ।
सम्झौता अनुसार, अमेरिका नाटोमार्फत युक्रेनलाई ३० करोड डलर बराबरको हतियार सहायता दिनेछ, जसमा प्याट्रियट मिसाइल र मध्यम दूरीका रकेटहरू समावेश छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहायता प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी अन्तर्गत स्वीकृत गरेका हुन् ।
अब हतियार सहायता नाटोमार्फत हुनेछ र सम्पूर्ण खर्च नाटोले बेहोर्नेछ ।
ट्रम्पले यो कदम रूसी राष्ट्रपति पुटिनप्रति असन्तुष्टि जनाउँदै चालेका हुन् । उनले युद्धविरामका लागि पहल गरे पनि पुटिनले अस्वीकार गरेका थिए ।
यसैबीच रोममा आयोजित सम्मेलनले युक्रेन पुनर्निर्माणका लागि १० अर्ब युरो (९० हजार करोड रुपैयाँ) सहयोग घोषणा गरेको छ ।
युरोपियन आयोगले पनि २.३ अर्ब युरोको सहायता दिनेछ । सम्मेलनमा ३८ देश र अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी थिए ।
अमेरिकाले हतियार आपूर्ति गर्ने निर्णयपछि रुष्ट बनेको रुसले बिहीबार कीभमा ४ सयभन्दा बढी ड्रोन र १८ मिसाइल आक्रमण गरेको थियो, जसमा दुईको मृत्यु र १६ जना घाइते भएका छन् ।
हमलाबाट आवासीय भवन, स्वास्थ्य केन्द्र र सार्वजनिक संरचनामा क्षति पुगेको छ ।


विश्व खबर 


















