काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सरकारका मन्त्रीहरूमाथि गम्भीर आरोप लगाएका छन् ।
फेसबुकमार्फत् सार्वजनिक टिप्पणी गर्दै उनले केही मन्त्रीहरूको निवासमा विहानै घुस रकमसहितको ब्रिफकेस ल्याइने गरेको दाबी गरेका छन् ।
‘यहाँको चलन यस्तै रहेछ’ शीर्षकमा लेख्दै डा.कोइरालाले भनेका छन्, ‘मन्त्री क्वाटरमा विहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन् ।’
उनले प्रधानमन्त्रीसमक्ष मन्त्रीहरूको यस्ता गतिविधिको प्रमाण पुगेपश्चात् पनि सम्बन्धित मन्त्रीहरूकै मीठा बोलीले प्रधानमन्त्रीलाई प्रभावित पारेर उनीहरू मन्त्रिपरिषद्कै बैठकमा सहभागी भइरहने उल्लेख गरेका छन् ।

यस्तै, डा.कोइरालाले प्रतिनिधिसभामा विपक्षी दलहरू केवल औपचारिकता पूरा गर्नका लागि मन्त्रीहरूको राजीनामा माग्ने गरेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘सदनमा विपक्षी दलहरूले कर्मकाण्डी शैलीमा राजीनामाको माग गर्छन् । तर, सत्तागठबन्धनका साझेदारका रूपमा हामी नेपाली कांग्रेस ‘साक्षी किनाराका सदर’ बनेका छौँ ।’
उनले सत्तासीन गठबन्धन र विपक्षी दल दुवैप्रति आलोचनात्मक रूपमा टिप्पणी गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस अडिओ प्रकरणमा मुछिएको भन्दै सत्ता र प्रतिपक्षी दलले बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।


विश्व खबर 


















