काठमाडौं । हालैको इजरायल–इरान सैन्य युद्धमा इरानी राष्ट्रपति मसुद पेजेसकियान घाइते भएको खुलासा भएको छ ।
इरानको रिभोलुसनरी गार्डसँगनजिक रहेको सरकारी फार्स समाचार एजेन्सीका अनुसार १६ जुनमा राजधानी तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधाको प्रवेश र निकास बिन्दुहरूलाई लक्षित गरी ६ वटा बम हमला गरिएको थियो जहाँ पेजेसकियान सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठकमा सहभागी थिए ।
राष्ट्रपति र अन्य व्यक्तिहरू आपतकालीन मार्गबाट भाग्ने क्रममा उनको खुट्टामा चोट लागेको समाचारमा बताइएको छ । इरानले अब इजरायली एजेन्टहरूको घुसपैठको सुराग पछ्याइरहेको बताइएको छ ।
फार्सको यो रिपोर्ट स्वतन्त्ररूपमा पुष्टि भने नभएको बताइएको छ । इजरायलले यो रिपोर्टबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन ।
१२ दिने युद्धको समयमा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले उत्तर–पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार हमला भएको देखाएका थिए ।
युद्धको चौथो दिनमा हमलाले तेहरानमा रहेको एक गोप्य भूमिगत सुविधालाई लक्षित गरेको थियो, जहाँ त्यतिबेला इरानका शीर्ष नेताहरू थिए भन्ने विषय खुलासा भएको छ ।
फार्स समाचार एजेन्सीको रिपोर्टअनुसार इजरायली हमलाले सबै ६ वटा प्रवेश र बाहिर निस्कने बिन्दुहरू र वायुरक्षा प्रणालीलाई अवरुद्ध गरेको थियो ।
उक्त सुविधाको बिजुली आपूर्ति पनि काटिएको थियो । पेजेसकियान सुरक्षित स्थानमा पुग्न सफल भएका थिए ।
सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् इरानको सर्वोच्च निर्णय गर्ने निकाय हो, जसको नेतृत्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले गर्छन् ।
गत हप्ता, पेजेसकियानले इजरायलले उनलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए । यो दाबीलाई इजरायली रक्षा मन्त्री इजरायल काट्जले अस्वीकार गर्दै उनले सत्ता परिवर्तन युद्धको लक्ष्य नभएको बताएका थिए ।
इजरायलले युद्धको सुरुवातमै धेरैजसो शीर्ष रिभोलुसनरी गार्ड र सेना कमान्डरहरूलाई मारेकोे थियो ।
इरानी नेताहरूले उनीहरू पूर्णरूपमा आश्चर्यमा परेको र हमलापछिको पहिलो २४ घण्टासम्म निर्णय लिने प्रक्रियामा अवरुद्ध भएको स्वीकार गरेका छन् ।
इजरायली अधिकारीहरूले आयतोल्लाह खामेनेई पनि निशाना भएको स्वीकार गरे पनि उनलाई सुरक्षित गुप्त स्थानमा सारिएपछि उनीहरूले उनको स्थान पत्ता लगाउन नसकेको र उनी बाहिरी संसारबाट धेरै हदसम्म टाढै रहेका बताएका थिए ।
इरानका शीर्ष अधिकारीहरू र कमान्डरहरूको स्थान र संवेदनशील गोप्य सुविधाहरूको स्थानबारे इजरायलले कसरी महत्वपूर्ण गुप्तचर जानकारी संकलन गरेको थियो भन्नेबारे अझै धेरै प्रश्नहरू रहेको बताइएको छ ।


विश्व खबर 


















