काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका छन्। मन्त्री गुप्ताविरुद्ध दुईवटा घुस ‘डिल’ सम्बन्धी अडियो र कागजातसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अख्तियारमा परेको उजुरीमा गुप्तामाथि मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। उक्त घुस रकम राखिएका दुई झोला, नोट नम्बर र तस्बिरसमेत उजुरीमा संलग्न गरिएको छ।
त्यसैगरी भूमि आयोग कास्कीको अध्यक्ष पदमा एमाले गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई नियुक्त गर्न २५ लाख घुसको अर्को डिलसमेत उजुरीमा उल्लेख छ। उजुरीसँगै उक्त डिलसम्बन्धी करिब १० मिनेट लामो अडियो संवाद सार्वजनिक भएको छ। अडियोमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग खुलेआम लेनदेनको कुरा गरिरहेका सुनिन्छन्। अडियो संवाद मन्त्रीमण्डल निवासमै भएको आशंका गरिएको छ।
अडियो अनुसार, संवाद भएको दिन १५ लाख र भोलिपल्ट थप १० लाख रुपैयाँ दिन सहमति भएको सुनिन्छ। संवादमा आएका घटनाक्रमले यो डिल २८ पुसमा भएको देखिन्छ। किनभने बिचौलियासँगै रहेकी महिलाले भोलिपल्ट श्रीस्वस्थानी व्रतकथा सुरु हुने र आफ्नो छोराको जन्मदिन परेको उल्लेख गरेकी छन्। त्यसको भोलिपल्टै (२९ पुसमा) भूमि व्यवस्था मन्त्रालयले ७० जिल्लामा आयोग अध्यक्षको नियुक्ति गरेको थियो, यद्यपि पुनको नाम परेन।
त्यसपछि ‘संलग्न मन्त्रीलाई कारबाही गरियोस्’ भन्ने मागसहित १० असारमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो। अख्तियार स्रोतका अनुसार उजुरीमा पेश भएका अडियो, कागजात र नोट नम्बरहरूको सत्यता प्रमाणित गर्ने प्रारम्भिक काम भइरहेको छ।
कसलाई पुर्याइँदै थियो घुस ? ‘सम्बन्धित ठाउँ’ को संकेत केपी ओलीसम्म
अडियो संवादमा घुस रकम ‘सम्बन्धित ठाउँ’ पुर्याइने भनिएको छ। बिचौलियाले ‘सत्यनारायण हाम्रो गुरुजी हो’ भनेर संकेत गरेका छन् भने मन्त्री गुप्ताले ‘राख्ने होइन, भोलि बिहानै दिएर पठाउनुपर्छ’ भन्दै रकम तुरुन्तै बुझाउने बताएका छन्। बिचौलियाले ‘बा’ शब्द प्रयोग गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको समेत अप्रत्यक्ष रूपमा प्रसंग निकालेका छन्।
गुप्ताको अडियो संवाद : “अब यहाँ (निवास) हुन्थ्यो भने तीनपाने रक्सी खान आइहाल्थ्यो”
अडियोमा गुप्ता र बिचौलियाबीचको संवाद निकै अनौपचारिक छ। उनीहरूबीच पहिले पनि लेनदेन भइसकेको संकेत मिल्ने संवादहरू छन्। एक ठाउँमा मन्त्री गुप्ता भन्छन्, “अब अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान।”
त्यसक्रममा बिचौलियाले प्रदेशबाट निर्णय भइसकेको र सिफारिस खेमबहादुर पुनकै आएको दाबी गर्दै मन्त्रीलाई दबाब दिइरहेका सुनिन्छन्।
खेमबहादुर पुनको प्रतिक्रिया : ‘मैले पैसा दिएको छैन’
पछिल्लो समय अडियो सार्वजनिक भएपछि नयाँ पत्रिकाले पुनसँग सम्पर्क गर्दा उनले घुस दिएको कुरा अस्वीकार गरे। “कसले भन्यो मैले पैसा दिएको भनेर? नचाहिँदो कुरा नगर्नुस् तपाईंहरूले,” उनले प्रतिक्रिया दिएका छन्।
गुप्ताको भनाइ : ‘अडियोको आवाज मेरो होइन’
नयाँ पत्रिकाले मन्त्री गुप्तासँग सम्पर्क गर्दा सुरुमा उनले “आज नछाप्नूस्, भोलि भेटेरै कुरा गरौँ” भनेका थिए। तर पछि भने, “त्यो अडियोको आवाज मेरो होइन।” त्यसक्रममा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि आरोप लगाउँदै, “बलरामले ऊसँग पैसा खाइसक्या छ, उसैले गर्नुपर्थ्यो,” भनी जवाफ दिएका छन्।
प्रधानमन्त्री ओलीको भनाइ र वर्तमान विवाद
प्रधानमन्त्री केपी ओली बारम्बार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने बताउँदै आएका छन्। २२ साउन ०८१ मा संसद्को राज्य व्यवस्था समितिमा उनले भनेका थिए, “म भ्रष्टाचार गर्दिनँ, अरूलाई गर्न पनि दिन्नँ।” यस्तै २९ भदौमा उनले सार्वजनिक रूपमा ठूला भ्रष्टाचारका घटना सुन्न नपर्ने दाबी समेत गरेका थिए।
तर, अहिले गुप्तामाथि लागेको घुस प्रकरणमा एमालेभित्रै आन्तरिक दबाब चुलिन सक्ने संकेत देखिएको छ।























