images
images
  • जन्मजात नागरिकता अन्त्य गर्ने ट्रम्पको आदेशमा संघीय न्यायाधीशले लगाए रोक

    काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मजात नागरिकता अन्त्य गर्ने कार्यकारी आदेशमा रोक लगाउने फैसला गरेका छन् ।

    न्यू ह्याम्पशायरस्थित अमेरिकी जिल्ला न्यायाधीश जोसेफ लाप्लान्टको यो फैसला महत्वपूर्ण मानिएको छ । अमेरिकाको सर्वोच्च अदालतले गत महिना तल्लो अदालतका न्यायाधीशहरूलाई राष्ट्रव्यापी निषेधाज्ञा जारी गर्ने शक्तिलाई सीमित गरेको थियो ।

    तर, वादीहरूलाई सामुहिक रूपमा दर्ता मुद्दामार्फत आदेशको रोक लगाउने क्षमता कायम राखेको थियो । बिहीबार न्यू ह्याम्पशायरमा अमेरिकी जिल्ला न्यायाधीश लाप्लान्टको फैसलामा त्यही भएको थियो । ट्रम्पको कार्यकारी आदेशलाई रोक्न अध्यागमन अधिकारका लागि वकिलहरूले उक्त मुद्दा दर्ता गरेका थिए ।

    न्यायाधीशको बेन्चबाट फैसला सुनाउँदै लाप्लान्टले अध्यागमन अधिकारका लागि काम गर्ने वकिलको अनुरोधलाई माग स्वीकार गरे र फेब्रुअरी २० पछि जन्मिएका शिशुहरूलाई ट्रम्पको आदेश लागु हुनबाट रोक्ने अस्थायी आदेश जारी गरे ।

    उनले भने, “यो निर्णय अदालतका लागि सजिलो छ । अमेरिकी नागरिकता खोस्नु र पुरानो नीतिमा अचानक परिवर्तन गर्नु ठूलो क्षति हो ।”
    ती न्यायाधीशले अमेरिकी नागरिकता संसारको सबैभन्दा ठूलो सम्मान भएको बताएका छन् ।

    पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशद्वारा नियुक्त यी न्यायाधीशले ट्रम्प प्रशासनलाई अपिल गर्न समय दिन केही दिनका लागि आफ्नो आदेश स्थगित गर्ने बताए ।

    उनले बिहीबार ३८ पृष्ठको लिखित आदेश पनि जारी गरे । लाप्लान्टले कार्यकारी आदेशले बिनाकानुन र बहस संविधानविरुद्धको नयाँ नीति ल्याएर धेरैलाई नागरिकता खोस्न खोज्दा ठूलो क्षति हुने बताएका छन् । यो रोक्न निषेधाज्ञा जरुरी रहेको उनको तर्क छ ।

    यो फैसला ट्रम्पको नीतिविरुद्ध बलियो कदम हुनसक्छ किनभने अन्य अदालतहरूले पनि सर्वोच्च अदालतको निर्णयलाई हेरेर आफ्ना फैसला पुनर्विचार गरिरहेका छन् ।

    ह्वाइट हाउसले यो फैसलालाई सर्वोच्च अदालतको आदेशविरुद्ध गैरकानुनी कदम भनेको छ ।

    ह्वाइट हाउसका प्रवक्ता ह्यारिसन फिल्ड्सले भने, “यो न्यायाधीशले गलत तरिकाले सामुहिक मुद्दाको प्रयोग गरेर कानुन उल्लंघन गरे । ट्रम्प प्रशासनले यस्ता न्यायाधीशहरूको कदमविरुद्ध कडा लडाइँ लड्नेछ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images