images
images
  • काठमाडौँमा कहाँ–कहाँ छ बाढीको जोखिम ?

    काठमाडौँ : भक्तपुर र ललितपुरका नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिममा छन्। अव्यवस्थित संरचना तथा किनार क्षेत्रमा नदीको बहाव क्षेत्र खुम्च्याएर सडक निर्माण गर्दा बाढीको जोखिम थपिएको हो।

    काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानका नागरिक बाढी, डुबान र पहिरोको समस्या झेल्न बाध्य छन्। बाढी र डुबानको मुख्य कारण नदीखोला किनार अतिक्रमण नै हो। काठमाडौँ, ललितपुर र भक्तपुरका सबै नदीखोला किनार अतिक्रमणमा परेका छन्।

    जलस्रोत विज्ञ एवं प्राज्ञ दीपक ज्ञवालीका अनुसार बागमती नदीका सहायक खोला किनार मिचेर बस्ती विस्तार गर्ने तथा खोला किनार मिचेर सडक र अन्य संरचना बनाउँदा बहाव क्षेत्र खुम्चिएर बाढी र डुबानको समस्या बढेको हो। ‘बाढी र डुबान त्यसै भएको होइन नि। यहाँ खोला बस्तीमा परेको होइन। बस्ती चाहिँ खोलामा परेका हुन्’, उनी भन्छन्।

    शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सम्भता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार बागमती नदीको किनारमा मात्रै शान्तिनगर, शङ्खमूल, कालीमाटीसहित ११ स्थानमा अव्यवस्थित बसोबास छ। समितिका आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार विष्णुमती किनारमा १० स्थान र मनोहरा किनारको मनोहरा, धोबीखोला किनारका पाँच स्थान अतिक्रमणमा परेका छन्।

    २०८१ असोज १० देखि १३ गतेको भीषण वर्षा र बाढीका कारण कारणका तिनै जिल्लामा बाढीले ठूलै क्षति पुर्‍याएको थियो। बागमती नदी, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचासहित सबै खोला किनारका बस्ती डुबानमा परेका थिए।

    जलस्रोतविज्ञ ज्ञवालीले नदी र खोला किनारमा पक्की पर्खाल लगाएर सडक बनाउँदा केही हदसम्म सुविधा भए पनि वर्षायाममा बाढीको कारक त्यही भएको बताए। ‘निजी जग्गा भएको ठाउँमा पनि नदीखोलातर्फ मिचेर घर-भवनको संरचना बनाइएको छ। सहायक खोलामा रिटेनिङ पर्खाल बनाएर खोलाको बहाव क्षेत्र खुम्च्याइएको छ। अनि खोला साँघुरो भयो भनेर हुन्छ, खोलाको बहाव क्षेत्र अतिक्रमण भएको हो। खोल्नुको विकल्पै छैन’, उनी भन्छन्।

    कुन कुन क्षेत्रमा जोखिम छ ?

    काठमाडौँमा बागमती नदी, रुद्रमती (धोबी खोला), भक्तपुरमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका विभिन्न स्थान तथा ललितपुरमा बागमती नदी किनार, गोदावरी र अन्य खोला किनारवासी डुबानको जोखिममा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images