काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय संरचनामा महत्त्वपूर्ण फेरबदल गरेका छन् ।
पार्टी विधान बमोजिम वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोयन गरिएको छ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीबाट सोमबार जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरिएको छ । उनको स्थानमा नयाँ प्रवक्ताको नियुक्तिको विषयमा भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अध्यक्ष लिङ्देनको निर्णयअनुसार पार्टी संगठनभित्र सुदृढता र अनुशासन कायम गर्ने उद्देश्यसहित उक्त कदम चालिएको उल्लेख गरिएको छ ।
पछिल्लो समय पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा अध्यक्ष लिङ्देनको सक्रियता देखिएको छ भने केन्द्रीय समितिमा थप फेरबदलहरू पनि हुनसक्ने अनुमान गरिएको छ ।
























