कठमाडौं– गएराति रूसले युक्रेनको राजधानी किभसहितका सहरमा व्यापक हवाई हमला गरेको छ । अमेरिकी सिएनएनका अनुसार रूसले ५३९ ड्रोन तथा ११ क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।
युक्रेनी वायु सेनाले तीमध्ये ४७६ ड्रोन खसालिएको जनाएको छ । आक्रमणका कारण धेरै भवनमा आगलागी भएको र बहुतले संरचनाहरू ध्वस्त भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ । किभको रेलमार्ग पनि क्षतिग्रस्त भएको छ ।
यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । विदेशमन्त्री एन्ड्री सिबिहाले पनि रातभरि निन्द्रा नपाएको जनाउँदै यो अहिलेसम्मकै खराब रात भएको बताए ।
कम्तिमा २३ जना घाइते भएका छन् भने मृत्युको खबर आएको छैन । आक्रमण राष्ट्रपति ट्रम्प र पुटिनबीचको वार्तालापपछि सुरु भएको बताइएको छ । ट्रम्पले पुटिनसँगको झन्डै एक घन्टाको कुराकानी सकारात्मक नभएको बताएका छन् ।
सिएनएनका अनुसार रूसले जुन महिनामा मात्रै युक्रेनमाथि ५,००० ड्रोन, ८० ब्यालिस्टिक मिसाइल र सयौँ ग्लाइडिङ बम प्रयोग गरिसकेको छ । बिहीबार कुस्र्क क्षेत्रमा भएको भिडन्तमा रूसी नौसेनाका उपप्रमुख मारिएका थिए ।


विश्व खबर 


















