काठमाडौं — नेपाल आयल निगममा इन्धन चोरीका घटना तीव्र रुपमा बढिरहेका छन्। यस्ता घटनामा निगमका कर्मचारीहरू स्वयं संलग्न हुने प्रमाण भेटिए पनि उनीहरू उन्मुक्ति पाइरहेका छन्। दोष भने सधैं ट्यांकर चालक र खलाँसीमाथि मात्र थोपारिने गरिएको देखिन्छ।
३० जेठमा थानकोट डिपोबाट ना. ४ ख ९४२२ नम्बरको ट्यांकरमा अपरेसन अधिकृत गणेशराज जोशीको निर्देशनमा ३ सय लिटर इन्धन अतिरिक्त पठाइएको खुलासा भएको छ। उक्त ट्यांकर सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर तेल लिएर गइरहेको बेला बाटोमै रोकी च्याम्बरको मेनहोलबाट तेल निकाल्दै गर्दा समातिएको थियो।
यस घटनापछि थानकोट डिपो प्रमुख अशोक साहले ट्यांकरका धनी मंगल ढुवानी सेवासँग स्पष्टीकरण मागे पनि कर्मचारीहरूमाथि कुनै औपचारिक कारबाही गरिएको छैन। उल्टै डिपो प्रमुख साह र अपरेसन अधिकृत जोशी मिलेर चालक–खलाँसीमाथि दोष थोपरेर आफु उम्किने रणनीतिमा लागेको स्रोतको आरोप छ।
प्रवृत्ति पुरानै, शैली नयाँ
यस्ता घटना थानकोट डिपोमा नयाँ होइनन्। अघिल्लो वर्ष तत्कालीन प्रमुख शैलेन्द्र भुसाल र कर्मचारी जगदीश जोशीको संलग्नतामा तीन महिनासम्म दैनिक ७ सयदेखि १ हजार लिटर तेल चोरी भएको थियो। त्यतिबेला पनि सामान्य सरुवा र ट्यांकर प्रतिबन्धमार्फत मुद्दा गुपचुप मिलाइएको थियो।
तेल चोरी गरिएका ट्यांकरहरू राजधानी तथा वरपरका पेट्रोल पम्पमा सस्तोमा बिक्री गर्छन्। त्यो बिक्रीबाट उठेको रकम निगमका केही कर्मचारीसम्म पुग्ने गरेको स्रोतको दाबी छ। पानी चेकजस्ता प्राविधिक बहानामा नोक्सानी देखाएर हिसाब मिलाउने प्रवृत्तिले भ्रष्टाचारलाई संस्थागत बनाएको देखिन्छ।
गण्डकीमा पनि मिलेमतोमै अपचलन
साउन २०८० मा पोखराको डिपो प्रमुख चित्तरञ्जन दासको संलग्नतामा ग. २ ख ८३६ नम्बरको ट्यांकरबाट ३ हजार लिटर बढी डिजेल लोड गरिएको पुष्टि भएको थियो। सीसी क्यामरा नै बन्द गरेर डिजेल लोड गरिएको घटना सार्वजनिक भएपछि दाससहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
निगमको धारणा
थानकोट डिपो प्रमुख अशोक साहले प्रारम्भमा तेल चोरी नभएको दाबी गरे पनि स्पष्टीकरण पत्र देखाइएपछि घटनाको पुष्टि गरेका छन्। तर, निगमका प्रवक्ता मनोज ठाकुरले भने घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। नेपाल आयल निगमभित्र इन्धन चोरी व्यापक, संगठित र उच्च तहकै मिलेमतोमा भइरहेको तथ्यले संकेत गर्छ। चालक र खलाँसीलाई मात्र कारबाही गर्दै मुख्य योजनाकारहरूलाई जोगाइँदा भ्रष्टाचारले जरा गाडिरहेको छ। नियमित अनुगमन र दोषीमाथि निष्पक्ष छानबिन नगरी यस्ता घटना रोकिने सम्भावना छैन।


विश्व खबर 




















