बागमती प्रदेश सरकारको बजेटप्रति कांग्रेसकै सांसदहरूले कडा असन्तुष्टि जनाएका छन्। आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेमाथि बजेट योजनामा व्यक्तिगत लाभका लागि रकम असुलेको गम्भीर आरोप कांग्रेस संसदीय दलकै बैठकमा उठेको छ।
बुधबार र बिहीबार बसेको दलको बैठकमा सांसदहरूले मन्त्री काफ्लेले आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट खन्याएर अन्य क्षेत्रको योजना कटौती गरेको, बिचौलियामार्फत योजना खरिद–बिक्री गरिएको, राजनीतिक दललाई कोटा तोकी बजेट निर्माण गरिएकोजस्ता आरोप लगाएका छन्।
सांसद रामकुमार पहाडीले योजना खरिद–बिक्रीको प्रमाण आफूसँग भएको दाबी गर्दै प्रमाण देखाउन नसके सांसद पद त्याग्ने घोषणा गरे भने, प्रमाणित भए काफ्लेले राजीनामा दिनुपर्ने चुनौती दिए। उपनेता रामकृष्ण चित्रकारसहित अन्य सांसदले बजेट मापदण्डविहीन, टुक्रे योजना बढी भएको, नीतिगत र ठूला विकास योजना नरहेको भन्दै आलोचना गरेका छन्।
कांग्रेसकै दबाबपछि प्रदेशसभा बैठकसमेत स्थगित गरिएको हो। बजेटको चर्को विवाद सार्वजनिक हुने भयले मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा एमालेसँग परामर्शमा जुटेका छन्।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले पनि बजेट यथास्थितिमा छलफल हुन नसक्ने बताएको छ। बहुवर्षीय आयोजना कटौती, विभेदपूर्ण बजेट विनियोजन लगायत विषयमा असन्तुष्टि जनाउँदै सरकारले स्पष्ट जवाफ नदिए छलफल बहिष्कार गर्ने चेतावनी दिएको छ।
स्रोतका अनुसार बजेट निर्माणमै कांग्रेसलाई १ अर्ब २० करोड, एमालेलाई १ अर्ब, माओवादीलाई ७० करोड, नेमकिपालाई २ करोड रूपैयाँ बराबरको योजना तोकिएको थियो। तर, ती कोटाभित्र पनि मन्त्री काफ्लेले मनपरी गरेकाले सांसदहरू अझै आक्रोशित छन्।
प्रदेश सभाको अर्को बैठक १६ असारका लागि तोकिएको छ भने कांग्रेस संसदीय दलको बैठक शुक्रबार पुनः बस्नेछ।


विश्व खबर 















