काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का डिन चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र एचसीसीएनबीच सशक्त सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौंको चन्द्रागिरीमा आयोजित नेपालको निर्यात व्यापारः अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् ।
उनले आर्थिक कूटनीति प्रवद्र्धनमा सरकारसँग सहकार्य गर्दै विश्वभर कार्यरत ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको सक्रिय भूमिका उपयोग गर्नुपर्ने औँल्याए । ‘राज्यले उनीहरूलाई केवल औपचारिक दूतको रूपमा मात्र होइन, रणनीतिक आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार गर्न आवश्यक छ,’ उनले भने ।
ढकालले वाणिज्यदूतहरू व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यका क्षेत्रमा पहिल्यैदेखि सक्रिय रहेको र उनीहरूले सरकारको खर्च विना आफ्नै स्रोत, समय र अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवद्र्धन गरिरहेको उल्लेख गरे ।

उनको भनाइमा यी वाणिज्यदूतहरूलाई नेपाल र अन्तर्राष्ट्रिय अर्थतन्त्रबीचको सेतुका रूपमा उपयोग गर्न सकिन्छ। भूकम्प, बाढी तथा अन्य विपद्को समयमा उनीहरूले देखाएको सक्रियता र पहलले भविष्यमा पनि सहयोगका ढोका फराकिलो बनाउन सक्छ ।
हालै परराष्ट्र मन्त्रालयले स्थापना गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै अध्यक्ष ढकालले यसले सरकार, एचसीसीएन, निजी क्षेत्र र कूटनीतिक समुदायबीचको समन्वय सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
उनले आर्थिक कूटनीति केवल व्यापारसम्म सीमित नरही रोजगारी, प्रविधि, ब्रान्डिङ, पर्यटन लगायतका क्षेत्रसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे । ढकालले निजी क्षेत्रको योगदानलाई स्मरण गर्दै भने, ‘नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रबाट छ । रोजगारी सिर्जनामा पनि ८६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रले दिएको छ । तर, निजी क्षेत्रलाई आर्थिक सहयोग होइन, राज्यको निर्णय प्रक्रियामा स्थान, पहिचान र सम्मान चाहिएको हो ।’
भारत, चीन र यूएईजस्ता मुलुकमा प्रधानमन्त्रीको भ्रमणका क्रममा आयोजित व्यापार सम्मेलनहरूले लगानी प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले आगामी दिनमा आर्थिक कूटनीति विभागसँगको सहकार्यमा अझ व्यवस्थित र प्रभावकारी ढंगले यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।


विश्व खबर 




















