–यमुना श्रेष्ठ
पृथ्वीको तापक्रम बढ्नुको प्रमुख कारणमध्ये वायु प्रदूषण हो । वायु प्रदूषणको मुख्य कारण चैँ सवारी साधन हुन् । विश्वव्यापी रूपमा ८५ प्रतिशत सवारी फोसिल फ्युलबाट चल्ने गरेका छन् । ती सवारीमा पेट्रोल, डिजेल प्रयोग हुन्छ । जसबाट निस्कने धूवाँले वातावरणमा कार्बन डाइअक्साइड, नाइट्स अक्साइड जस्ता हानीकारक ग्यासहरूको उत्सर्जन बढाउँछ । यसको असर अहिलेको पुस्ताले मात्रै होइन भावी पुस्ताले समेत व्यहोनुपर्ने छ ।
पछिल्लो समय तापक्रम नियन्त्रणका लागि विश्वभर हरित सवारीको अवधारणा अघि बढाइएको छ । हरित सवारी भन्नाले वातावरणलाई कम मात्रामा प्रदूषित गर्ने भन्ने बुझिन्छ । अर्थात् पेट्रोल र डिजेलको सट्टा विद्युतीय ऊर्जा, हाइड्रोजन, बायोफ्युलबाट चल्ने सवारी साधन नै हरित सवारी हुन् । जसमा अहिले विद्युतीय सवारी (ईभी) प्रमुख हरित सवारी हो । विद्युतीय सवारीमा चार्ज गरिएका ब्याट्रीबाट ऊर्जा प्राप्त हुन्छ । यसले प्रदूषण घटाउँछ ।
अहिले विश्वका अधिकांश देशले शून्य कार्बन उत्सर्जन नीति अघि सारेका छन् । सोही अनुसार हरित सवारीको प्रयोग बढाइरहेका छन् भने फोसिल फ्युल सवारीको प्रयोग घटाउने घोषणा गरेका छन् । विश्वभर कार्बन–न्युट्रल कारको अवधारणा र उत्पादनलाई प्राथमिकतामा राखिएको छ । सन् २०१५ मा भएको पेरिस सम्झौताले सन् २०५० सम्म युरोपियन युनियनलाई कार्बन–न्युट्रल बनाउने प्रष्ट योजना अघि सारेको छ । नेपालको उत्तरी छिमेकी चीनले सन् २०६० र भारतले २०७० सम्म कार्बन उत्सर्जन शून्य बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेपालले पनि सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य राखेको छ । सोही अनुसार नेपालमा पनि हरित सवारी अवधारण व्यापक बन्दै गएको छ भने हरित सवारीको प्रयोग तीव्र बनाइएको छ । काठमाडौं विश्वकै धेरै वायु प्रदूषण हुने सहरभित्र पर्नथालेको छ । यसको न्यूनीकरण गर्न पनि हरित सवारी प्रयोग अपरिहार्य छ ।
नेपालमा हरित सवारीको प्रयोग
विश्व इतिहासमा इलेक्ट्रिक कार १९औं शताब्दी मै बनेको पाइन्छ । तर, यसको व्यापक प्रयोग भने २१औं शताब्दीको सुरुआतदेखि भएको हो । नेपालमा विद्युतीय सवारीको इतिहास झण्डै ५ दशक लामो छ । सार्वजनिक सवारीको रूपमा २०३२ सालमा चीन सरकारको सहयोगमा ट्रलीबस स्थापना भयो । त्यसपछि ६० को दशकमा सफा ट्याम्पु आयो ।
निजी सवारीसधानका रूपमा नेपालमा विद्युतीय सवारी सन् २०१७ तिर भित्रिएको हो भने यसको लोकप्रियता सन् २०१९ देखि बढ्न थालेको हो । पछिल्लो २÷३ वर्ष यता भने ईभीको प्रयोग ह्वात्तै बढेको छ ।
नेपाल सरकारले पेट्रोल, डिजेलको प्रयोग कम गर्न ईभीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । ईभीको प्रयोग बढाउन आयातमा भन्सार छुट दिएको छ । जसले फोसेल फ्युल गाडीको तुलनामा ईभी सस्तो भएको छ र सर्वसाधरणको पहुँचमा पुगेको छ ।
निजी क्षेत्रका सवारी आयातकर्ताले ईभीलाई पहिलो प्राथमिकतामै राखेका छन् । अहिले नेपालमा आयात हुने कुल सवारीमध्ये दुईतिहाई (करिब ६५ प्रतिशत) हिस्सा ईभीको छ । गत वर्ष मात्रै झण्डै ८ हजार बढी ईभी नेपाल आएका थिए । चारपाँग्रे ईभीको प्रयोग जुन रफ्तारमा बढेको छ, दुईपाँग्रे भने सो अनुसार बढ्न सकेको देखिदैन । आवश्यक चार्जिङ पूर्वाधारको अभाव र थोरै रेन्जका कारण दुईपाँग्रे ईभीको प्रयोग बढ्न सकेन ।
नेपाल विश्वमै ’ईभी एसेप्टेन्स रेट हाइ’ भएको देशमा पर्छ । तर, यसका बाबजूद ईभी आममानिसको पहुँचमा पुग्न सकेको छैन । प्राइभेट भेहिकलको रूपमा प्रयोग बढ्दो भए पनि पब्लिक भेहिकल अति न्यून छ । चार्जिङ स्टेशनहरूको अभाव, ईभीको मूल्य महँगो हुनु, सरकारको स्थिर र प्रभावकारी नीतिगत निर्णयको अभाव, वातावरण प्रति जनचेतनाको कमी, सहज र सहुलियत फाइनान्स सुविधाको कमी लगायतका कारण समग्रमा ईभीको प्रयोग अझै न्यून छ ।
दीर्घकालीन स्थिर नीति
नेपाल सरकारले हरित सवारीलाई प्रोत्साहन गर्ने नीति लिए पनि यो पर्याप्त छैन । ईभी आयातमा भन्सार छुट दिएको छ, तर वर्षेपिच्छे करका दर हेरफेर भइरहन्छ । यसले व्यवसायी र उपभोक्ता दुवै ढुक्क हुने अवस्था छैन । अबौँ लगानी गरेका व्यवसायी राज्यकै नीतिका कारण आफ्नो लगानी डुब्ने पो हो कि भन्ने चिन्तामा हुन्छन् ।
सरकारले कम्तीमा १०÷१५ वर्षका लागि स्थिर नीति बनाउनु पर्छ । ईभीका कर कति लगाउने हो, निश्चित वर्षसम्म एउटै हुनुपर्छ । जसले व्यवसायी र उपभोक्ता दुवैलाई ईभीको प्रयोग बढाउन प्रोत्साहन गर्छ ।
चार्जिङ पूर्वाधारको विकास
विद्युतीय सवारी साधन प्रयोग बढाउन चार्जिङ स्टेशन विस्तार पहिलो शर्त हो । नेपालमासीमित मात्रामा चार्जिङ स्टेशन छन् । व्यक्तिगत सवारीलाई चार्जिङको खासै समस्या नभए पनि दैनिक सयौं किमी गुड्ने सार्वजनिक सवारीलाई समस्या छ । चोकचोकमा चार्जिङ स्टेशन हुनुपर्छ ।
हरित सार्वजनिक सवारी
हाल नेपालमा सार्वजनिक यातायातमा हरित सवारीको प्रयोग नगण्य मात्रामा छ । अझै पनि यातायात व्यवसायीले नयाँ बस किन्दा फोसिल फ्युलवाला नै किन्छन् । जसको प्रमुख कारण हो मूल्य । डिजेलबाट चल्ने बसको तुलनामा ईभी बस निकै महँगो छ । व्यवसायीले नाफा हेर्न भएकाले विद्युतीय बसमा लगानी गर्दा पाउने प्रतिफल कम देख्छ । यस्तोमा विद्युतीय बसप्रति आकर्षण बढाउन राज्यले नगद अनुदान तथा ब्याजदरमा छुट दिई प्रोत्साहन नीति अबलम्बन गर्नुपर्छ । यातायात व्यवसायीले पनि क्षणिक मुनाफाभन्दा दीर्घकालीन लाभका लागि हरित सवारी खरिदलाई प्राथमिकतामा राख्नुपर्छ ।
जनचेतना वृद्धि
वायु प्रदूषण नियन्त्रणका लागि जनतालाई हरित सवारीको महत्व बुझाउन आवश्यक छ । हरित सवारी र फोसिल फ्युल सवारीको दैनिक संचालन खर्चमा ठूलो अन्तर छ । यी कुरा राम्रोसँग बुझाउन सरकार र व्यवसायी दुवै मिलेर व्यापक रूपमा जनचेतनामूलक अभियानहरू संचालन गर्नुपर्छ ।
निष्कर्ष
नेपालमा हरित सवारीको भविष्य निकै उज्जवल देखिन्छ । यो प्रगतिको बाटोमा छ । यसले विद्युत् खपत बढाउन, व्यापार घाटा घटाउन, वायु प्रदूषण कम गर्नका साथै नेपालको पर्यावरणीय दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्छ । सही नीति र योजनासहित अधि बढेमा हरित सवारीबाट नेपालले चौतर्फी लाभ लिनसक्छ ।
(श्रेष्ठ साइमेक्स इंकका प्रवन्ध निर्देशक हुनुहुन्छ)
प्रतिक्रिया दिनुहोस्























