images
images
  • शेयर बजारमा पाचौँ बुलको अपेक्षा

    –अरुण सापकोटा, आर्थिक पत्रकार

    अर्थतन्त्रको ऐना देखाउने नेपालको शेयर बजारले तीन दशक पार गर्दा पाँचौ बुलको यात्रा गरिरहेको छ । अहिलेसम्मको अनुभवमा हरेक बुलिस ट्रेण्ड चरम आर्थिक मन्दी तथा समस्यालाई पार गर्दै माथि उठ्नेक्रममा सुरु हुने गरेको छ ।

    यस पटकको बुल पनि आर्थिक मन्दीबाट थिलिएको अर्थतन्त्रबाट विस्तारै माथि उठ्ने चरणमा छ । करिव ४० महिनासम्मको वियरिसट्रेण्ड सक्काएर बितेको एक वर्षदेखि शेयर बजारले बुलिस ट्रेण्डको आधार निर्माण गरिरहेको छ ।

    एक वर्षको अवधिमा शेयर बजार १८२६ अंकबाट ३ हजार अंकसम्म पुग्यो । बजारले सबैभन्दा तल्लो बटमलाइनलाई ब्रेक गरेर २५ सयदेखि २८ सयको बीचमा घुमिरहेको छ । यो समय कारोबार रकमका हिसावले ऐतिहासिक रह्यो । गएको बुलमा २१ अर्बसम्म कारोबार भएकोमा यस पटकको बुलिस ट्रेण्डको सुरुवातमै २९ अर्बसम्मको कारोबार भयो ।

    यदि बजारले अघिल्लो बुलको अधिकतम विन्दुलाई ब्रेक गरेर अगाडी बढ्यो भने दोस्रो बजारमा आधा खर्ब रुपैयाँको कारोबार हुनसक्छ ।

    अर्थतन्त्रको ऐनाका रुपमा शेयर बजार

    शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिइन्छ । कुनैपनि देशको शेयर परिसूचक उच्च छ भने कारोबार रकम पनि उल्लेखनीय हुन्छ । साथै शेयर बजारले लगानीकर्ताको मनोविज्ञान बढाउने काम गर्छ । त्यस्तो अवस्थामा सम्बन्धित देशको अर्थतन्त्र सवल, गतिशील र तथ्याङ्कीय दृष्टिले पनि सही अवस्थामा रहेको मानिन्छ ।

    यदि शेयर बजार ओरालो लागेको छ, कारोबार उत्साहजनक छैन र परिसूचकहरू लगातार घटिरहेका छन् भने त्यसले देशको अर्थतन्त्र मन्दीको चपेटामा परेको सन्देश दिन्छ । त्यसैले शेयर बजार र अर्थतन्त्रबीचको सम्बन्ध निकै नजिकको र आपसी असर पर्ने हुन्छ ।

    शेयर बजारमा उत्साह कायम रहन्छ कि रहँदैन शेयर मूल्य बढ्छ कि घट्छ भन्ने विषय सरकारको आर्थिक नीतिहरू, अर्थतन्त्रको विद्यमान अवस्था र भविष्यको पूर्वानुमानमा भर पर्छ । कुनै सरकारले विकास निर्माणलाई प्राथमिकता दिएर अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास आम नागरिक र लगानीकर्तामा सिर्जना गर्न सक्यो भने शेयर बजारमा सकारात्मक उत्साह देखिन्छ । तर, सरकार, यसको नीति र प्राथमिकताप्रति जनस्तरमा भरोसा घटेमा शेयर बजार नकारात्मक दिशातर्फ उन्मुख हुन्छ ।

    कोभिड १९ पछि नेपाली अर्थतन्त्रमा सुस्तता आउदा आर्थिक बृद्धिदर ऋणात्मक देखियो । यस सँगै शेयरमा पनि ठुलै गिरावट देखियो । विश्व बैंक तथा एशियाली विकास बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा माथि रहने प्रक्षेपण गरिसकेका छन् । यसले गर्दा अवको केही समय शेयर बजार बुलिस ट्रेण्डमै रहने पुर्वानुमान गर्न सकिन्छ ।

    विश्वका शेयर बजारको नेपाल कनेक्शन

    नेपालको अर्थतन्त्र अन्य देशको भन्दा पृथक छ । पछिल्लो दुई दशकमा रेमिट्यान्स केन्द्रित अर्थतन्त्रको आधार कृषि तथा पर्यटन नै हो । अझै पनि नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २३ प्रतिशत भन्दा माथि छ । नेपाल क्रमिक रुपमा परनिर्भर हुँदै गइरहेको छ ।

    मद्रास्फिती, विनिमयदरहरुमा प्रत्यक्ष असर देखिए पनि विश्वका स्टक मार्केटमा हुने गिरावट वा सुधारले प्रत्यक्ष रुपमा भने असर पर्ने गरेको छैन । अन्य देशको तुलनामा भारतीय शेयर बजारमा देखिने उतारचढाव पछि नेपालको शेयर बजारमा भने प्रभाव पारिरहेको हुन्छ । भारतमा नाफा बुक गरेर नेपालको शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या कम छैन ।

    अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै बजारमा तीव्र उतारचढाव देखिएको छ । ट्रम्पले सन् २०२५ जनवरी २० मा शपथ लिएपछि विश्व बजारका धेरै सूचक १५ देखि २० प्रतिशतसम्म घटेका छन् । थाइल्यान्डको शेयर बजार २२.९८ प्रतिशतले घटेको छ भने न्यासड्याक र स्मल क्याप झण्डै २० प्रतिशतले घटेका छन् ।

    जापानको निक्केइ र ताइवानको सूचकमा समेत ठूलो गिरावट आएको छ । अमेरिकाले नयाँ शुल्क घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजार थप दबाबमा परेको हो । अमेरिकाको एस एन्ड पी ५०० ले १९५० यताकै चौथो ठूलो गिरावट भोगेको छ । ट्रम्पले कर नीतिमा कडाइ गर्दा कतिपय देश असन्तुष्ट देखिएका छन् । यसले लगानीकर्ता अन्योलमा परेका छन् । तर यी सबै घटनाक्रमले नेपालको शेयर बजारलाई भने प्रत्यक्ष प्रभाव पारेको छैन ।

    नेपाली शेयर बजारको यात्रा

    नेपाली शेयर बजारको यात्रा रोचक र उतारचढावले भरिएको छ । सन् १९९३ मा स्थापना भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले औपचारिक रुपमा कारोबार सुरु गरेपछि देशमा पुँजी बजारको विकासको यात्रा अघि बढ्यो । सुरुवातमा सीमित कम्पनीहरूको कारोबार हुँदा बजार सुस्त थियो । पछिल्ला वर्षहरूमा डिजिटल कारोबार प्रणाली, लगानीकर्ताको चासो र आर्थिक सचेतनाको वृद्धिले शेयर बजारलाई गतिशील बनाएको छ । राजनीतिक परिवर्तन, नीतिगत सुधार र विश्व अर्थतन्त्रको प्रभावले बजारलाई प्रभावित पार्दै आएको छ ।

    पहिलो बुल (जुलाई १९९७ देखि नोभेम्बर २०००

    नेपालको शेयर बजारमा पहिलो बुल सन् १९९७ देखि २००० सम्मको अवधिलाई मानिन्छ । यस समयमा नेप्से सूचक १०० बाट ५४५ अंकसम्म पुगेको थियो । करिब ४० महिनाको अवधिमा नेप्से सूचक ३४५ अंकले वृद्धि भएको थियो ।

    त्योबेला नेपालको अर्थतन्त्रमा गार्मेन्ट उद्योगको ठूलो योगदान थियो । नेपालले ठूलो मात्रामा गार्मेन्ट उत्पादन गरी निर्यात गथ्र्यो । उद्योगी, व्यवसायी तथा कामदारको हातमा प्रशस्त पैसा हुँदा शेयर बजारमा पहिलो बुल आएको विश्लेषक निरञ्जन टिवरेवालको अनुभव छ । यसै अवधिमा शेयर बजारका केही संरचनागत परिवर्तनहरू पनि भएका थिए ।

    पहिलो वियर (नोभेम्बर २००० देखि अप्रिल २००४)

    पहिलो बुल जति लामो चल्यो, त्यतिकै अवधि पहिलो वियर पनि चल्यो । माओवादी द्वन्द्व सुरु भएसँगै मुलुक गृहयुद्धमा फस्यो । माओवादीले गार्मेन्ट उद्योगमा आक्रमण गरेपछि उद्योगहरू क्रमशः बन्द हुँदै गए । विदेशीहरूले समेत नेपालको उत्पादन किन्न छाडे । बंगलादेशले नेपालको बजार ओगट्यो । मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक भयो । देशमा संकटकाल घोषणा गरियो । युद्ध र आन्दोलनले बजारमा नराम्रो असर पार्यो । फलस्वरूप नेप्से सूचक ५४५ अंकबाट १०५ अंकसम्म झर्यो ।

    दोस्रो बुल (अप्रिल २००४ देखि अगस्ट २००८)

    दोस्रो बुल माओवादी द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा अगाडि बढेपछि सुरु भएको देखिन्छ । यो बुल करिब ५२ महिनासम्म चल्यो । यस अवधिमा नेप्से सूचक १०५ बाट ११७५ अंकसम्म पुग्यो, जुन ५०२ प्रतिशतले वृद्धि भएको थियो । युद्धकालीन कालो धन बजारमा फर्कियो । गाउँबाट सहर छिर्ने जनसंख्या बढ्यो । घरजग्गाको मूल्य आकासियो । वैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले बजारमा पर्याप्त तरलता ल्यायो । यसैले शेयर बजारमा तीव्र वृद्धि भएको थियो ।

    दोस्रो वियर (अगस्ट २००८ देखि अप्रिल २०१२)

    दोस्रो बुलपछिको वियर अर्थमन्त्री डा. बाबुराम भट्टराईको शेयर बजारलाई जुवाघर भन्ने अभिव्यक्तिबाट सुरु भएको मानिन्छ । यस अभिव्यक्तिपछि बजार ११७५ अंकबाट ३०० अंकसम्म घट्यो । करिब ४२ महिना लामो यो वियर ट्रेन्डमा लगानीकर्ताहरूले ठूलो घाटा बेहोरे ।

    वास्तवमा यस अवधिमा विश्वव्यापी आर्थिक मन्दीको असर नेपालमा समेत परेको थियो । तर, दोष भने बाबुराम भट्टराईको बोलीलाई मात्रै दिइयो । आम मानिसको सम्झनामा अहिले पनि त्यो बियरको मुख्य कारक बाबुराम भट्टराईको बोली नै हो । तर त्यो बेला बैंकिङ तरलता घट्न थालेको थियो । व्याजदर बढेको थियो । अस्थिर राजनीतिक अवस्थाले समेत बजारमा थप दबाब सिर्जना गरेको थियो ।

    तेस्रो बुल (अप्रिल २०१२ देखि जुलाई २०१६)

    तेस्रो बुल सन् २०१२ बाट सुरु भयो । डा. बाबुरामको ह्याङओभर सकिएसँगै बजारमा सुधार देखिन थाल्यो । करिब ५० महिनासम्म चलेको यो बुलमा नेप्से सूचक ३०० बाट १८८२ अंकसम्म पुग्यो । राजनीतिक परिवर्तन, राष्ट्र बैंक र बीमा समितिको पूँजी वृद्धिको योजना, भूकम्पपछिको पुनर्निर्माण कोष र बैंकिङ प्रणालीमा थुप्रिएको तरलता मुख्य कारण बने । सिडिएससीले शेयर अभौतिकीकरण गरेपछि बजारमा सप्लाई घट्यो । हकप्रद र बोनस शेयरको प्रभावले बजार थप उकासियो ।

    तेस्रो वियर (जुलाई २०१६ देखि मार्च २०१९)

    दोस्रो बियरको दोष तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराइको बोलीलाई गए जस्तै तेस्रो बियरको दोष पनि तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाको बोलीलाई गयो । खतिवडाले शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि लगानीकर्ताको मनोबल घट्यो । उनले उत्पादनमूलक क्षेत्रमा मात्रै कर्जा जानुपर्ने धारणा राख्दा बजार १८८२ अंकबाट ११०० अंकसम्म घट्यो । भूकम्पपछिको पुनर्निर्माण सकिन थालेपछि तरलता घट्यो । व्याजदर बढ्न थाल्यो । यो बियर करिब ४२ महिनासम्म कायम रह्यो ।

    चौथो बुल (२०१९ देखि अगस्ट २०२१)

    चौथो बुलको प्रमुख कारण कोभिड–१९ महामारी रह्यो । सरकारले लकडाउन गर्दा आर्थिक गतिविधि ठप्प भए पनि लगानीकर्ताहरूले टीएमएसमार्फत घरमै बसेर शेयर कारोबार गर्न पाए । बजार ११०० बाट ३२०० अंकसम्म उक्लियो । यस अवधिमा नेप्से सूचक १०३ प्रतिशतले वृद्धि भयो । व्याजदर घट्दा बजारमा थप तरलता आयो । जलविद्युत क्षेत्रका लगानीकर्ताले सबैभन्दा धेरै लाभ उठाए । धेरै जलविद्युत कम्पनीका संस्थापकहरूले शेयर बिक्री गरी नयाँ आयोजना सञ्चालन गर्ने पूँजी जुटाए । यो बुल करिब २८ महिनासम्म रह्यो ।

    चौथो वियर (अगस्ट २०२१ देखि अप्रिल २०२४)

    चौथो वियरको कारण विश्वव्यापी आर्थिक मन्दी थिया । कोभिडपछि नेपाल मात्र होइन, विश्वभर आर्थिक चक्र अवरुद्ध भयो । बैंकहरूले कर्जा उठाउन सकेनन् । घरजग्गा कारोबार थलिएपछि बजार ३२०० अंकबाट १८२६ अंकसम्म झर्यो । करिब ४२ प्रतिशतले बजार घट्यो ।यो बियर पनि करिब ३२ महिनासम्म चल्यो ।

    पाँचौं बुल (अप्रिल २०२४ यता)

    हाल शेयर बजार पाँचौं बुलमा रहेको छ । विगत एक वर्षदेखि बजारमा क्रमशः सुधार आइरहेको छ । यो बुल राजनीतिक परिवर्तनसँग जोडिएको मानिन्छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आगमनसँगै बजारमा आशा जागेको थियो । लगानीकर्ताहरूले अपेक्षा गरेजस्तो तीव्र गति नदेखिए पनि तरलता पर्याप्त छ । कोभिडपछिको सबैभन्दा न्यून व्याजदर कायम छ । यो बुल करिब ३० महिनासम्म लगातार घटेको बजार पुनः उकास्न सुरु भएको छ ।

    लगानीकर्ताहरुले ध्यान दिनैपर्ने पक्ष

    नेपालको शेयर बजार अझै पनि पूर्णरूपमा परिपक्व भइसकेको छैन । अहिले पनि धेरैजसो लगानीकर्ताहरू हल्लाको भरमा लगानी गर्ने प्रवृत्तिमा छन् । प्राविधिक तथा सैद्धान्तिक विश्लेषणभन्दा पनि “फलानो कम्पनीको शेयर यति रुपैयाँसम्म पुग्छ रे” भन्ने अफवाहका आधारमा शेयर किन्नेको संख्या उल्लेख्य छ । यस्तो हल्लाको पछि लाग्दा धेरै लगानीकर्ता जालसाजीमा फस्ने गरेका छन् ।

    शेयर बजारमा प्रायः १० प्रतिशत लगानीकर्ता मात्रै सफल हुने गर्छन् भने बाँकीले न लाभ उठाउन सक्छन्, न त समयमा शेयर बिक्री गर्ने अवसर पाउँछन् । बजार बढ्छ भन्ने आशामा खरिद गरिएका शेयरहरू मूल्य घटेर निकै तल झरेपछि मात्र उनीहरू झस्किन्छन, जुनबेला निकै ढीला भइसकेको हुन्छ ।

    नेपालको शेयर बजारमा उच्च शैद्धान्तिक आधार भएका कम्पनीहरू भन्दा पनि साना पुँजी (लो क्याप) भएका कम्पनीहरूलाई मनपरी रूपले मूल्य बढाउने र लगानीकर्तालाई बुल ट्रयापमा पार्ने प्रवृत्ति देखिन्छ । छिटो नाफा कमाउने लोभमा परेर लगानीकर्ताहरू लो क्याप कम्पनीतर्फ आकर्षित हुने गर्छन् । शेयर बजार यस्तो क्षेत्र हो जहाँ जबसम्म शेयर बिक्री गरिँदैन, तबसम्म नाफा वा घाटा भएको हुँदैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images