images
images
  • फस्टाउँदो पाँचतारे होटल सञ्जाल ३ वर्ष २ दर्जन

    –सुवास योञ्जन

    २०७६ वैशाखमा विश्वप्रसिद्ध ब्रान्ड काठमाडौं मेरियट सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय चेन होटलको प्रवेश ह्वात्तै बढेको छ । बौद्धस्थित हायात रिजेन्सीमा चेन होटेल ब्राण्डको प्रवेशपछि करिब २० वर्षसम्म सुस्ताएको चेन होटलको प्रवेशलाई मेरियटको प्रवेशले पुनः ब्युँताइदिएको छ ।

    होटल मेरियट सञ्चालनमा आएपछि काठमाडौं उपत्यका र बाहिरी जिल्लामा तारे होटल निर्माणको लहर नै चलेको छ । हालसम्म नेपालमा २५ वटा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् भने एक दर्जन बढी सञ्चालनमा आउने तयारीमा छन् । ती होटल अबको ३ वर्षभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी थालिएको देखिन्छ ।

    यद्यपि, पर्यटन विभागबाट जारी तथ्यांकअनुसार १६ वटा मात्र पाँचतारे होटल छन् । बाँकी ९ वटा होटलले पाँचतारेको मान्यता पाइसकेका छैनन्, उनीहरु पाँचतारे होटलको मान्यता लिने तयारीमा छन् ।

    पर्यटन विभागले सार्वजनिक गरेको पाँचतारे होटलको सूचीमा रहेको सांग्रिला र अन्नपूर्ण डेला हाल बन्द अवस्थामा छन् । अन्नपूर्ण होटेललाई व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले नयाँ स्वरुपमा पुर्ननिर्माण गरी भाटभटेनी, अपार्टमेन्ट र पाँचतारे लक्जरी होटल सञ्चालन गर्दैछन् ।

    सञ्चालनमा रहेका पाँचतारे होटल

    काठमाडौं मेरियटः काठमाडौंको नागपोखरीमा सञ्चालित मेरियट होटलमा २१४ कोठा छन् । १३ तले भवनको होटल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा क्यासिनोदेखि पाँचतारे सुविधा उपलब्ध छ । होटलमा १९३ डिलक्स, २० स्वीट र एउटा प्रेसिडेन्टल रुम छ ।

    मेची क्राउन : पूर्वी नेपालको पहिलो पाँच तारे डिलक्स होटल मेची क्राउन ८ बिघा क्षेत्रफलमा फैलिएको छ । करिब २ अर्ब लगानीमा निर्माण भएको होटलको व्यवस्थापन भारतको उडान ग्रुपले लिएको छ । होटलमा हाल १९२ वटा कोठा सञ्चालनमा छन् । ४ मेची स्वीट्स, ८ एक्जुकेटिभ भिल्ला, ९० मेची क्लब, ६५ डिलक्स र २५ वटा प्रिमियम सञ्चालनमा छन् । होटलमा एकै पटक ५०० बढी सवारीसाधन पार्किङ गर्न सकिन्छ ।

    लेमन ट्री प्रिमियर ः काठमाडौंको बूढानीलकण्ठमा सञ्चालित लेमन ट्री प्रिमियरमा १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । भारतीय प्रसिद्ध ब्रान्ड ‘लेमन ट्री प्रिमियर‘ले व्यवस्थापन हेरिरहेको बूढानीलकण्ठ हेरिटेजमा १०२ कोठा छन् । तीमध्ये ५७ वटा ट्वीन्स रुम, ३३ किङ रुम, ६ वटा जुनियर स्वीट्स रुम, ४ बिजनेस स्वीट्स रुम र २ वटा प्रेसिडेन्टल स्वीट्स रुम छन् । होटलको कुल लागत २ अर्ब ५० करोड रुपैयाँ छ ।

    सोल्टी होटलः २०२३ मंसिर १० गते राजा महेन्द्रले उद्घाटन गरेको सोल्टी होटल करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । सात वटा प्रेसिडेन्सियल भिभिआईपी स्वीट रुम रहेको होटलमा २८२ बढी स्तरीय कोठा छन् । राजधानी काठमाडौंको मुटुमा रहेको होटल ठूला कार्यक्रमका लागि पहिलो रोजाइमा पर्दै आएको छ ।

    पोखरा ग्रान्डः पोखरामा १७ वर्षअघि सञ्चालनमा आएको होटल पोखरा ग्रान्डमा १४० वटा कोठा छन् । पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्रान्डमा १० वटा स्वीट्स रुम छन् । पाँच हल रहेको होटलमा तीन रेस्टुरेन्ट र एउटा बार, ट्राभल्स डेस्क, बिजनेस सेन्टर तथा पर्याप्त पाकिङको सुविधा छ ।

    हायात रिजेन्सीः सन् २००० देखि बौद्धमा सञ्चालनमा रहेको हायात रिजेन्सी काठमाडौं परम्परागत नेवारी शैलीको वास्तुकलामा डिजाइन गरिएको लक्जरी पाँचतारे होटल ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    २८० कोठाको यो होटलमा एउटा प्रेसिडेन्टल, एउटा एक्जुकेटिभ गरी ८ स्वीट्स, ४२ क्लब रुम, ३ भ्यू रुम र बाँकी १९२ वटा हायात स्ट्यान्डर्ड रुम छन् ।

    याक एन्ड यती

    काठमाडौंको दरबारमार्गमा अवस्थित याक एण्ड यती होटल ५७ रोपनीमा क्षेत्रफलमा फैलिएको छ । २४७ वटा कोठाको होटलमा स्विमिङ पुल, ज्याकुजी, साउना, लङटेनिस, साइक्लिङ, जिम, वेलनेस सेन्टर, स्पा र क्यासिनोसमेत छ ।

    द मल्ल होटल

    काठमाडौंको लैनचौरमा अवस्थित द मल्ल होटल २४ रोपनी क्षेत्रफलमा फैलिएको छ । २०३२ बाट सञ्चालनमा आएको होटलमा ४४ स्ट्यान्डर्ड, ४३ डिलक्स, तीन जुनियर स्वीट्स र चार वटा डिलक्स स्वीट्स कोठा छन् । करिब पाँच दशक पुरानो मल्ल होटलका सबै कोठा डिजिटल र अत्याधुनिक संरचनामा निर्माण भएका छन् ।

    टाइगर प्यालेस, भैरहवा

    रुपन्देहीको तिलोत्तमा–१५ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट १२ बिघा क्षेत्रफलमा फैलिएको छ । हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गरेको रिसोर्टमा १०२ वटा कोठा छन् । लक्जरी रिसोर्टमा ९० डिलक्स, ६ एक्जुकेटिभ, ४ स्वीट्स र दुईटा भिल्ला छन् । ५ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको रिसोर्टमा गैरआवासीय नेपाली (एनआरएनए)को लगानी छ

    सोल्टी वेस्टेन्ड प्रिमियर

    नेपालगन्जमा सञ्चालनमा रहेको सोल्टी वेस्टेन्ड प्रिमियर करिब २ बिगाह क्षेत्रफलमा फैलिएको छ । करिब १ अर्ब २५ करोड बढी लगानीमा निर्माण भएको होटलमा ८१ वटा कोठा छन् ।
    होटल सेन्ट्रल प्लाजा

    बाँकेको कोहलपुरमा सञ्चालित होटल सेन्ट्रल प्लाजा १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । ६० करोड लगानीको होटलमा ८० वटा रुम छन् । होटलको भवन ए, बी र सी गरी तीन वटा ब्लगमा छ । होटलमा पाँच वटा प्रेसिडेन्सियल स्वीट्स रुम, पाँच फेमिली स्वीट्स रुम, २० सुपर डिलक्स र बाँकी डिलक्स कोठाको व्यवस्था छ ।

    होटल एभरेष्ट

    काठमाडौंको नयाँ बानेश्वरमा सञ्चालनमा रहेको होटल एभरेष्ट ३१ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा २८० कोठा छन् । २०७२ भूकम्पपछि लामो समय बन्द होटल २०७६ देखि नियमित सञ्चालनमा आएको छ ।

    अलफ्ट होटल

    ठमेलको छायाँदेवी कम्प्लेक्समा अलफ्ट काठमाडौं सञ्चालनमा छ । कम्प्लेक्सको पाँचौ तलादेखि १५औं तलासम्म सञ्चालनमा रहेको होटलमा १६७ कोठा छन् । होटलमा क्यासिनो, बार र रुफ टम रेस्टुरेन्टलगायत सुविधा छ । यो होटल अमेरिकन ब्रान्ड म्यारियटले होटलको व्यवस्थापन गर्दै आएको छ ।

    होटल द किङ्ग्सबरी

    झापाको बिर्तामोडमा सञ्चालित होटल द किंग्सबरीमा ८२ कोठा छन् । होटलमा ६ स्वीट्स, ५ एक्जुकेटिभ र ७१ वटा डिलक्स कोठा छन् ।

    हायात प्यालेस

    काठमाडौंको सोल्टीमोडमा सञ्चालनमा रहेको हायात प्यालेस साढे १० रोपनी क्षेत्रफलमा फैलिएको छ । ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको १४ तले भवनमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यारिस रुम र १५३ गेस्ट रुम उपलब्ध छन् ।

    इच्छा होटल

    बाराको सिमरामा सञ्चालित होटल इच्छा १ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण तथा सञ्चालनमा आएको हो । मिनी क्यासिनोसहित सञ्चालनमा रहेको होटलमा १०० कोठा छन् । सिमरा विमानस्थलबाट २ किलोमिटर र हेटौंडाबाट ३५ किमी दूरीमा रहेको होटल दुई बिघा क्षेत्रफलमा फैलिएको छ ।

    दुसित प्रिन्सेस

    लाजिम्पाटमा सञ्चालनमा रहेको दुसित प्रिन्सेसमा १०७ कोठा छन् । १२ तले होटलमा ८२ सुपेरियर, १० डिलक्स, ८ एक्जुकेटिभ, ६ जुनियर स्वीट्स र एउटा प्रेसिडेन्सियल रुम छ । होटल करिब १ अर्ब ५० करोड रुपैयाँमा निर्माण गरिएको हो ।

    अकामा होटल

    काठमाडौंको धुम्बाराहीमा सञ्चालनमा रहेको अकामा होटल ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा सुपेरियर ९५, डिलक्स ६, डिलक्स स्वीट्स चार, फेमिली स्वीट्स दुई, प्रेसिडेन्टल स्वीट्स एउटा गरी १०८ कोठा छन् ।

    होलिडे इन रिसोर्ट

    काठमाडौंको बुढानीलकण्ठमा सञ्चालनमा आएको होलिडे इन रिसोर्ट २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा १०४ कोठा छन् । करिब ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टमा आधुनिक मनोरञ्जनका सुविधासहितका जिम, बाहिरी पौडी पोखरी, स्पा तथा बच्चाका लागि आकर्षक खेल गतिविधिसहितको किड्स क्लब छ ।

    ¥याडिसन होटल

    नेपालको पुरानो होटलमध्येको लाजिम्पाटस्थित ¥याडिसन होटलमा २६० वटा कोठा छन् । ओरियन्टल होटल्स लिमिटेडद्वारा सञ्चालित होटलमा विभिन्न प्रकृतिका कोठा छन् ।

    हिल्टन

    काठमाडौंको नक्सालमा सञ्चालित हिल्टन काठमाडौं १० रोपनी क्षेत्रफलमा फैलिएको छ । १७ तले होटलमा १७२ कोठा छन् । हिल्टन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्यू उपलब्ध छन् । भवनको पूर्वाधारमा जर्मन प्रविधिको भूकम्प प्रतिरोधात्मक उपकरण जडान गरिएको छ ।

    सिद्धार्थ भिलासा

    २ अर्ब ५० करोड लगानीमा निर्माण भएको भैरहवाको सिद्धार्थ भिलासा पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटरको दूरीमा रहेको होटलमा ८५ वटा कोठा छन् । होटलमा सबैभन्दा ठूलो १ हजार २०० जना अट्ने क्षमताको सेमिनार हलसमेत छ ।

    आईटीसी फरच्यून

    भक्तपुरको साँगामा फरच्यून रिसोर्ट एन्ड वेलनेस स्पा सञ्चालनमा छ । ३२ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा जग्गाबाहेक १ अर्ब रुपैयाँ लगानी भएको छ । होटलमा हाल ६७ कोठा छन् । एक वर्षभित्रै थपेर १५० कोठा पु¥याउने लक्ष्य व्यवस्थापनको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images