–पारस खड्का
नेपाली खेलाडीहरुले पाएका अन्तर्राष्ट्रिय सफलतासँगै सरकारले पनि खेलकुद क्षेत्रमा लगानी क्रमशः बढाउँदै गएको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड ४८ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा ६२ करोड रुपैयाँले बढी हो ।
खेल बजेटमध्ये सबैभन्दा धेरै प्राथमिकता क्रिकेटले पाएको छ, जसका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याइएको छ । कीर्तिपुर क्रिकेट रंगशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम युद्धस्तरमा भइरहेको छ । आगामी आर्थिक वर्षबाट हुने खेलहरु पक्कै पनि प्यारापिटमा बसेर रातको समयमा पनि हेर्न पाइनेछ ।
एनपीएलः क्रिकेटको नयाँ आयाम
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आफै नेपाल प्रिमियर लिगको आयोजना गरेको छ । क्यानले आयोजना गरेको यो प्रतियोगिता घरेलु तथा अन्तर्राष्ट्रिय स्तरकै सबैभन्दा ठूलो प्रतियोगिता हो । आगामी दिनमा यो नेपाल प्रिमियर लिगलाई र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा हामी महत्वपूर्ण रूपमा चिनाउन चाहन्छौं ।
यसभन्दा अगाडि पनि एभरेस्ट प्रिमियर लिग, धनगडी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरि तीनवटा फ्रेन्चाइज क्रिकेट लिग भएका छन् । त्यसबखत केही टिमले बाहेक धेरैले आर्थिक रूपमा फाइदा उठाउन सकेनन् । यस पटक लगानी पनि बढी भएको छ । नेपाल क्रिकेट संघले एनपीएल भिन्न तरिकाले सञ्चालन गर्ने प्रयास गरिरहेको छ ।
अहिले नेपाल क्रिकेट संघ र टिमहरूले जुन लगानी गरेका छन् त्यो लगानी हेर्दा यसअघिका प्रतियोगिताको लगानी निक्कै कम देखिन्छ । हामी देशमा एउटा खेलकुदको संस्कार बसाल्नुपर्छ भनेर अगाडी बढेका छौं । अहिले बनेका फ्रेन्चाइज टोलीहरूलाई हामी प्रदेश र जिल्लासम्म जोड्ने प्रयासमा छौ । हरेक फ्रेन्चाइज टोलीले आफ्नै एकेडेमी खोल्न सक्छन् ।
अहिलेका आठ वटा फ्रेन्चाइज टोलीमध्ये तीनवटा प्रदेशका नाममा र बाँकी सहरका नाममा जोडिएका छन् । नेपाल क्रिकेट संघले लामो छलफलपछि यी टोली बनाएको हो । तर, हामीलाई थाहा छ, जति पनि टोलीहरू छन्, त्यसका लगानीकर्ताले केही वर्षसम्म यी टोलीबाट आर्थिक लाभपाउन सक्नुहुन्न । हामीले टोली लिने र लिन चाहने लगानी कर्ताहरूलाई तीनदेखि चार वर्षसम्ममा गर्नुपर्ने लगानीका बारेमा प्रस्ट बनाइसकेका छौं । यी यी क्षेत्रमा तपाईहरूले लगानी गर्नुपर्छ भनिसकेका छौं ।
खेलकुदले पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, सामाजिक एकता र आत्मबलमा सकारात्मक प्रभाव पार्छ । यसले राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुरÞ्याउँछ ।
नेपाल प्रिमियर लिगका लागि टिम किन्न १६ वटा लगानीकर्ताले इच्छा देखाउनुभएको थियो । यो भनेको नेपाली क्रिकेटले प्राप्त गरेको ठूलो उपलब्धि हो । हामीले ६ वटा टोलीबाट सुरु गर्ने सोचेका थियौँ । तर हामीले यस्तो उत्साह देखेपछि ८ बनायौ । हामीले देशका सबै ठाउँलाई समेट्ने प्रयास पनि गरेका छौं । भविष्यमा जुन लगानीको कुरा छ सम्पूर्ण फ्रेन्चाइज टोलीका लगानीकर्ताहरूलाई धन्यवाद भन्नुपर्छ । राम्रो पक्ष अर्को के पनि हो भने ८ वटा फ्रेन्चाइजको साथसाथै अर्को ८ वटा फ्रेन्चजीहरू पनि बाहिर हुनुहुन्छ । जसले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज लिनको लागि र फ्रेन्चाइज टोलीसँग जोडिन रुची देखाएका छन् ।
पहिलो संस्करणपछि हामीले खाका बनाएका छौं, जुन १० वर्षसम्मको छ । १० वर्षको अवधिसम्म हरेक वर्ष गरेको लगानीको आम्दानी कसरी फिर्ता पाउँछ भनेर हामीले आकलन गरेका छौं ।
सुदूरपश्चिमका हरेक क्रिकेट फ्यानले सुदूरपश्चिम हाम्रो क्रिकेट टिम हो भनेर जर्सी किनुन् । जस्तो, आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन । तर यो टिम सबैभन्दा बढी ब्राण्ड भ्याल्यु बोकेको टिम हो ।
हामीले आर्थिक रूपमा गरेको लगानीको प्रतिफल ग्रासरूट क्रिकेटसम्म पर्नेछ । भोलि बच्चाहरूले त्यो ठाउँको टोलीसम्म जोडिएर क्रिकेटमा आबद्ध हुनेछन् । यसको प्रभाव लामो समयसम्म रहिरहनेछ । अहिले लगानी गरेर आजको भोलि मात्रै फाइदा हेरेर हुँदैन ।
नेपाल क्रिकेट संघको लगानी मैदानमा मात्रै होइन मैदानभन्दा बाहिरका गतिविधिबाट पनि देख्न सक्नुहुनेछ । नेपाल प्रमियर लिगलाई हामीले आत्मनिर्भर बनाउने हिसाबले अगाडि बढाएका छौं । सबैभन्दा ठूलो स्टेकहोल्डर भनेको हाम्रो लगानीकर्ता हो । जसलाई हामीले पहिल्यै भनिसकेका छौं, पहिलो तीन वर्ष फाइदा लिन सक्नुहुन्न । थाहा भएरै पनि उहाँहरूले सहयोग गर्नुभएको छ ।
नेपाली क्रिकेटको भविष्य
नेपाली क्रिकेटमा तुलनात्मक रूपमा लगानी बढेको छ । निजी क्षेत्र क्रिकेटमा लगानी गर्न उत्सुक देखिन्छ । खेलकुद प्रतियोगितामा राम्रो प्रायोजन प्राप्त भइरहेको छ । खेलाडीहरूमा पहिले भन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा लगानी बढेको छ । यो चाहे सेवा सुविधामा होस्, प्रशिक्षण वा व्यक्तिगत प्रायोजनमा । हिजो र आजको अवस्था पक्कै पनि फरक भइसकेको छ । तर, यस परिवर्तनलाई दीर्घकालीन रूपमा कसरी टिकाई राख्ने यो चुनौती पक्कै छ ।
नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ । युवा प्रतिभाको प्रस्फुटन, व्यावसायिक लिगको सुरुवात र अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शनले नेपाललाई आगामी वर्षहरूमा उत्कृष्ट क्रिकेट राष्ट्रका रूपमा चिनाउने सम्भावना छ ।
राज्यले दीर्घकालीन खेलकुद रणनीति बनाउनु, बजेटको उचित व्यवस्थापन गर्नु, स्थानीय तहहरूमा खेल सुविधाहरू विस्तार गर्नु, र विभिन्न सफलता दिन सक्ने खेलहरूको पहिचान गरी ती खेलहरूको विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । खेलाडीहरूको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा र व्यावसायिक अवसरहरू पनि थप्नुपर्छ ।
खेलकुदको बहुआयामिक योगदान
अब खेलकुदका गतिविधि बढ्दै जाँदा अन्य क्षेत्रमा पनि यसको असर देखिन थाल्छ । यसको सकारात्मक असर रोजगारीमा पनि देखिने छ । खेलाडीहरूले त खेल्ने मात्रै हो । अन्य तयारीका लागि अन्य व्यक्तिहरूका लागि रोजगारी सिर्जना हुन्छ । राज्यले लगानी बढाउँदै जाँदा खेलकुदका लागि पूर्वाधारहरू बन्दै जानेछन् । हामीले आम्दानी गरेपछि जिल्ला जिल्लामा लगानी बढाउने छौं । त्यहाँ पनि नयाँ रोजगारी बढ्छ ।
आज केन्द्रका उत्कृष्ट २५ खेलबाडीहरूले पाँच वर्ष खेल्दा जीवन निर्वाहका लागि चिन्ता नगर्नु पर्ने अवस्था बनिसकेको छ । यो अवस्था भोलि प्रदेश र जिल्लामा पनि विस्तार हुन्छ ।
हामी कुनै पनि एउटा प्रतियोगिता आयोजना गरेर यसको नाफाघाटा मात्रै हिसाब गर्न सीमित हुन चाहँदैनौं । यसको प्रभाव राष्ट्रकै विकासमा परोस् भनेर सोही अनुसारको लगानी चाहन्छौं । अहिले क्रिकेट एउटा उचाइमा पुगेको छ । यसले अरू खेललाई पनि प्रभाव पार्न सक्छ ।
आज भलिबलका कवर्ड हल भरिन थालेको छ । फुटबलमा रंगशाला पहिल्यैदेखि दर्शकले भरिन्छ । खेलकुदले पर्यटकलाई पनि आकर्षण गर्छ । नेपालमा अरु धेरै इभेन्ट्सहरू छैनन् । यस्ता खेलहरू नेपाली दर्शकले कुरेर बस्छन् । यो क्रम बिस्तार हुँदै जानेछ ।
राज्यले भौतिक पूर्वाधारमा नै लगानी गर्नुपर्ने छ । लगानी अगाडि बढाएका धेरै संरचनाहरू पूरा भइसकेका छैनन् । अझै पनि हामी राति प्रतियोगिता सञ्चालन गर्न सक्ने अवस्थामा पुगिसकेका छैनौं । कीर्तिपुर मैदानमा प्यारापिट निर्माण र फ्लडलाइटको जडान कार्यले जुन गति लिएको छ, यसलाई हेर्दा अर्को वर्षको नेपाल प्रिमियर लिग फ्ल्डलाइटमा गर्न सकिन्छ भन्ने विश्वास छ ।
(खड्का क्यानका सचिव हुन)























